१०४ वर्षीया कालिमायाको आर्शिवाद लिएर बर्तौलाको चुनावी अभियान सुरु

साझाकुरा
२०८२ माघ १४, मंगलवार १२:५२

हेटौंडा- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट मकवानपुर–२ मा उम्मेदवारी दिएका महेश बर्तौलाले १०४ वर्षीया कालिमाया मोक्तानको हातबाट आर्शिवाद लिएर चुनावी अभियान सुरु गरेका छन् । बर्तौलाले सोमबार बिहान हेटौंडा उपमहानगरपालिका–३ बसामाडीस्थित जम्बु चौतारीमा बस्दै आएकी कालिमायाको हातबाट आर्शिवाद ग्रहण गरेर चुनावी अभियान सुरु गरेका हुन् । राक्सिराङ गाउँपालिका स्थायी घरभएकी कालिमाया र उनका परिवार अस्थायीरुपमा बसामाडीमा बस्दै आएका छन् । १०४ वर्षकी कालिमायाले बर्तौलालाई टीका, माला र खादा लगाउँदै जीतको शुभकामना दिइन् । आफ्नै हातले दही खुवाउँदै उनले जितेर सांसद र मन्त्री बन्नु भन्दै आर्शिवाद दिइन् ।

जिउँदो भगवानको रुपमा रहेको जेष्ठनागरिक आमाको हातबाट आर्शिवाद ग्रहण गरेर पार्टीको औपचारिक चुनावी कार्यक्रमको अभियान जम्बु चौतारीबाट गरिएको बर्तौलाले बताए । उनले २०७९ को निर्वाचनमा विजयी गराएर पठाएपछि निर्वाचन क्षेत्र र सिंगो मकवानपुरको लागि विभिन्न विकासका योजना ल्याउन सफल भएको बताए । सांसद निर्वाचित भएर काम गरिरहँदा ३२ महिनामै संसद विगठन भएपश्चात् काम गर्न बाँकी योजना पूरा हुन नसकेको बताए । ती योजना पूरा गर्नका लागि दोस्रोपटक अवसर दिन बर्तौलाले आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामाले देश जलाउनेविरुद्धको चुनाव भएको कारण सोचेर देश बनाउनेलाई मतदान गर्नुपर्ने बताए । देश बनाउने पार्टी अरु कुनै नभएर नेकपा एमाले नै भएको कारण देश बनाउने पार्टीका उम्मेदवारलाई बहुमतको साथ विजय गराउनै पर्ने महत्वपूर्ण चुनाव भएको बताए । ‘पछिल्लो समय गाउँ बस्तीमा नकारात्मक भ्रमहरु सिर्जना भैरहेका छन्,’ लामाले भने, ‘राज्यको सम्पत्तिमा आगो लगाएर, राज्यको सम्पत्ति खर्च हुनेगरी ३२ महिनामै प्रतिनिधिसभालाई विगठन गर्ने काम भयो । यसको कारण को हो ? तँपाई हामी सबैले चिनेका छौँ । त्यसैले मत दिनुअघि सोचेर मात्रै मतदान गरौँ ।’

नयाँ दल भनेर मतदातामा भ्रम फैलाए पनि विकासका कामहरु सबै पूराना दलले गरेको लामाले बताए । एमालेका युवा, शिक्षित, शालिन र देशभक्त युवा उम्मेदवारलाई जिताएर मकवानपुर–२ मा आफ्नो अधिकार सुनिश्चित गर्न लामाले अनुरोध गरे । नेकपा एमालेकी केन्द्रीय सदस्य भारती पाठकले बर्तौलाले गत निर्वाचनमा निर्वाचित भएर गएपछि गरेका कामहरु, सदनमा उठाएका आवाजलाई आधार मानेर मतदान गर्नुपर्ने बताइन् । मकवानपुरका समस्यालाई संघीय संसदमा उठाएर केन्द्रीयस्तरमै ध्यानाकर्षण गराउन सक्ने सक्षम उम्मेदवार एमालेले अघि बढाएको कारण यो पटक मकवानपुर–२ मा बर्तौला बाहेक अरुलाई मत दिन नहुने बताइन् ।

औपचारिक उद्घाटन पश्चात् अब चुनावी भेटघाटलाई तीव्रता दिइने बर्तौलाले बताए । निर्वाचन कार्यालयको निर्देशन अनुसार फागुन ४ अघि कुनै सभा, समारोह, आमसभा जस्ता कार्यक्रम भने नगर्ने उनको भनाइ छ । बर्तौला २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट पाँच दलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*