‘क्युआर कोड’ मार्फत् मतदातासँग जोडिँदै तेजप्रसाद
हेटौंडा-फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुर १ बाट उम्मेदवार बनेका तेजप्रसाद उप्रेती (रमेश) ले मतदातासँग प्रत्यक्ष संवाद र राय संकलनका लागि क्यूआर कोड सार्वजनिक गरेका छन् । जर्नादन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिएका उप्रेतीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकले उठाउन चाहेका मुद्दा, प्राथमिकता तथा सुझाव प्रत्यक्ष रुपमा संकलन गर्ने उद्देश्यले क्यूआर कोड सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन् । ‘उन्नत विकास सहितको विकल्प’ भन्ने नाराकासाथ चुनावी मैदानमा उत्रिएका उप्रेतीले मतदाताबाट प्राप्त राय, सुझाव र सन्देशलाई चुनावी घोषणापत्र तथा भावी कार्यदिशाको आधार बनाइने बताएका छन् ।
क्यूआर कोड मोवाइलबाट स्क्यान गरेपछि नागरिकले सजिलै आफ्ना विचार, अपेक्षा र प्रतिक्रिया लेखेर पठाउन सक्ने व्यवस्था गरिएको छ । उप्रेतीले मतदाताबाट प्राप्त प्रत्येक सुझावलाई शिरोपर गर्दै जनतामाझ पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरमा सामाजिक व्यक्तित्वकारुपमा परिचित उप्रेती लामो समयदेखि वैकल्पिक राजनीतिक धारमा सक्रिय रहँदै आएका युवा नेता हुन् । यसअघि बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी, नेपालसँग आबद्ध उप्रेती बाबुराम भट्टराई र जर्नादन शर्मा बीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मकवानपुर १ मा उम्मेदवार बनेका हुन् ।
मकवानपुरको राजनीतिक वृत्तमा उप्रेतीलाई विश्वव्यापी अनुभव बोकेको शिक्षित र उद्यमशील युवा उम्मेदवार कारुपमा हेरिएको छ । दक्षिणकोरियामा लामो समय काम गरेको अनुभव, जेसिजको राष्ट्रिय नेतृत्व सम्हालेको पृष्ठभूमि तथा सामाजिकरुपमा सक्रिय व्यक्तित्वका कारण उनी फरक सोच र दृष्टिकोणसहितको उम्मेदवारकारुपमा स्थापित हुँदै गएका छन् । परम्परागत राजनीतिभन्दा माथि उठेर विचारशील, जवाफदेही र विकल्पसहितको राजनीति प्रस्तुत गर्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएको उप्रेतीको भनाइ छ ।
राजनीतिक यात्रामा उप्रेती वैकल्पिक राजनीतिक धारबाट उदाएकानेता हुन् ।आर्थिक पुनर्संरचनामार्फत समृद्ध मकवानपुर बनाउने विष्टको प्रतिबद्धतायसैगरी प्रलोपाकै मकवानपुर क्षेत्र नं. २ का उम्मेदवार सन्तोष बिष्टले उत्पादनमुखी अर्थतन्त्र र सामाजिक न्यायमा आधारित आर्थिक पुनर्संरचनालाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन् ।उम्मेदवार बिस्टले देशको वर्तमान आर्थिक चुनौतीको समाधान उत्पादन वृद्धि, न्यायपूर्ण वितरण र स्थानीय अर्थतन्त्रको सशक्तीकरणबाट सम्भव हुने विश्वास व्यक्त गरेका छन् । उनले प्रगतिशील करप्रणाली लागू गरी धनी, गरिबबीचको खाडल घटाउने, सामूहिक उत्पादनको प्रवद्र्धनमार्फत गरिबी उन्मूलन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनको चुनावी घोषणापत्रअनुसार स्थानीय स्रोत, सीप र श्रमको अधिकतम प्रयोग गर्दै उत्पादनमुखी स्थानीय अर्थतन्त्र निर्माण गरिनेछ । अनुसन्धान, नवप्रवर्तन र डिजिटल अर्थतन्त्रको विस्तार गरी युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजना अघि सारिएको छ ।
उम्मेदवार बिस्टले वैदेशिक लगानी आकर्षणका लागि पारदर्शी नीति, स्थिर शासन र लगानीमैत्री वातावरण सुनिश्चित गर्ने बताउँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई उत्पादनशील क्षेत्रमा रुपान्तरण गर्ने नीति लिने बताएका छन् । आर्थिक पुनर्संरचनाबिना सामाजिक न्याय सम्भव छैन, भन्दै उनले जनताको हातमा सत्ता, जनताको पक्षमा नीति भन्ने मूलमन्त्रका साथ मकवानपुर, २ लाई समृद्धि र आत्मनिर्भरतातर्फ लैजाने दृढ संकल्प व्यक्त गरेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिह्न ‘आँखा’ लिएर मैदानमा उत्रिएका उम्मेदवार बिस्टले सुशासन, आर्थिक न्याय र समावेशी विकासलाई व्यवहारमै उतार्ने दाबी गरेका छन् ।







