जन्मदिनमा बहिरा तथा सुस्तश्रवण विद्यालयलाई टेलिभिजन सहयोग

साझाकुरा
२०८२ माघ १५, बुधबार ११:४२

हेटौंडा- हेटौंडा–५ सानोपोखरा घरभई हाल न्युजिल्याण्ड निवासी श्रेया श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर सामाजिक उत्तरदायित्व निभाउँदै बहिरा बालबालिकाका लागि टेलिभिजन सहयोग गरेकी छिन् ।श्रेष्ठले हेटौंडा–६ स्थित शान्ति बहिरा तथा सुस्तश्रवण आवासीय आधारभूत विद्यालयका विद्यार्थीको पठनपाठन सहयोग तथा मनोरञ्जनका लागि ३२ इन्चको स्मार्ट टेलिभिजन उपलब्ध गराएकी हुन् ।

टेलिभिजन सेट बालक्लबका अध्यक्ष सबिना जिम्बा र विद्यालयकी प्रधानाध्यापक शर्मिला खतिवडालाई श्रेयाका बुबा ईश्वर श्रेष्ठ र आमा सुस्मा श्रेष्ठले हस्तान्तरण गरेको विद्यालयले जनाएको छ । आवासीयरुपमा बस्दै आएका बहिरा विद्यार्थीका लागि शैक्षिक सामग्री, संकेत भाषामा आधारित कार्यक्रम तथा जानकारीमूलक भिडियो हेर्न टेलिभिजन उपयोगी हुने विद्यालयको भनाइ छ ।

टेलिभिजन हस्तान्तरण कार्यक्रममा उपस्थित भएको हेटौंडास्थित संगम आर्टस्का प्रोपाइटर कृष्णा श्रेष्ठले विद्यालयलाई आवश्यक ब्यानर, बिल तथा छपाइसम्बन्धी सम्पूर्ण काम निशुल्क गरिदिने बताइन् । शान्ति बहिरा तथा सुस्तश्रवण आवासीय विद्यालयमा मकजानपुर सहित विभिन्न जिल्लाका ४० जना बहिरा तथा सुस्तश्रवण भएका विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*