मृतकका परिवारलाई किरियाखर्च प्रदान
हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाले मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउन थालेपछि सर्वसाधारणले राहत महशुस गरेका छन् । परिवारका सदस्यको मृत्युपछि काजकिरिया उम्काउन समस्या हुने परिवारलाई खर्चले राहत मिलेको हो । आर्थिक समस्या झेल्दै आएका विपन्न परिवारलाई गत आर्थिक वर्षबाट पालिकाले प्रतिपरिवार २० हजार रुपैयाँका दरले सहयोग प्रदान गर्न थालेको हो । जनप्रतिनिधिले घरमै पुगेर आर्थिक सहयोगसँगै मृत्यु दर्ताको कागजसमेत हस्तान्तरण गर्ने गरेका छन् । गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी मृतकको घरमै पुगेर काजकिरिया गर्नका लागि पालिकाले रकम उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए ।
गत वर्ष १ सय ९५ परिवारलाई किरिया खर्चबापत रकम उपलब्ध गराइएको उनले बताए । चालु आर्थिक वर्षमा १ सय ८० परिवारलाई काजकिरिया खर्चबापत ३६ लाख रुपैयाँ उपलब्ध गराइ सकिएको उनले बताए । वडा कार्यालयबाट मृत्युदर्तासहित विपन्नको सिफारिस गरेपछि गाउँपालिका कार्यालयले काजकिरिया गर्न प्रतिपरिवार २० हजार रुपैयाँ नगद उपलब्ध गराउने वडाध्यक्ष राजकुमार पाख्रिनले बताए ।
‘आर्थिक अभावले किरिया रोकिने अवस्था नआओस् भनेर खर्च दिने गरेका हौं,’ उनले भने, ‘गाउँपालिकाको यो पारित नीति हो ।’ रकम उपलब्ध गराउन जाँदा समवेदना÷श्रद्धान्जली लेखिएको र फलफूलसमेत लिएर जाने गरिएको गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए । चालु आर्थिक वर्षमा किरिया खर्चबापत ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम अपुग भए बजेट थप गर्न सकिने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।







