चुनाब जिताएर सेवा गर्ने मौका दिन डीनाको आग्रह
हेटौंडा- नेपाली कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) ले यसपटक चुनाब जिताएर सेवागर्ने मौका दिन आग्रह गरेकी छ्न् । बिहिबार नेपाली काँग्रेस बागमाती गाउँपालिका वडा नम्बर ७, पाथीभरास्थित आयोजित क्रियाशील सदस्यसँगको छलफलमा उनले सो कुरा बताएकी हुन् ।
उनले बदलिएको कांग्रेसले मुलुक बनाउने अभियानका साथ देशभरको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको बताइन् । पटकपटक चुनाव हार्दा पनि मकवानपुरको विकासमा निरन्तर लागिपरेको बताउँदै उनले यसपटक जितेर सँगसँगै काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, ‘म दिने ठाउँमा नपुग्दा पनि जिल्लाको विकास र समृद्धिका लागि निरन्तर लागिपरेँ । यो पटक जितेर जनतासँग ५ वर्ष सँगसँगै रहेर काम गर्नेछु ।’
बागमती गाउँपालिका–७ का कांग्रेस सभापति फष्टबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका मकवानपुर जिल्ला सहसचिव इन्दिरा न्यौपाने, महिलानेतृ रीता खनाल, जिल्ला सदस्य शेरबहादुर रानामगर, कांग्रेस बागमती प्रदेश समिति सदस्य भक्तबहादुर राईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर २० जना नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । उनीहरुलाई प्रमुखअतिथि, विषेश अतिथिलगायतले पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रम अगाडि उम्मेदवार डीनाले पाथीभरास्थित करिब दुई महिनादेखि बिरामी परेर बसेकी ५० वर्षीया रिता राईलाई भेटेकी थिइन् । प्रेशरले हानेर लड्दा टाउको पछाडिको भागमा रगत जमेर हिड्न, उठ्न नसक्ने अबस्थामा रहेकी राईसँगको भेटको क्रममा उनका श्रीमान ज्ञानबहादुर राईले आफू यसअघि अन्य पार्टीमा रहेको तर, पार्टीबाट आफ्नो श्रीमतीलाई उपचारको क्रममा कुनै सहयोग नगरेको भन्दै दुःख व्यक्त गरेका थिए । उम्मेदवार डीनाले रिताको उपचारको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
उनले बिरामी रितालाई पनि चाँडै नै निको हुने र हारनमान्न आग्रह गरिन् । यस्तै बिहिबार बागमती गाउँपालिका–४ झुरझुरे र बकैया गाउँपालिका–४ ठुलोथलीमा भेटघाट कार्यक्रम रहेको थियो । झुरझुरेको कार्यक्रम कांग्रेसका वडासभापति सोमबहादुर घिसिङ र ठुलोथलीको कार्यक्रम सुनिल भोम्जनको अध्यक्षतामा भएको हो ।







