सुशासनयुक्त नेपाल निर्माण कांग्रेसको संकल्पः कांग्रेस नेतृ डीना
हेटौंडा- नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले जनताबाट अनुमोदन भएर जनताकै हितमा काम गर्ने प्रतिबद्धता जनाएकी छिन् ।‘जनताले कांग्रेसप्रति विश्वास गरिरहेका छन् । मतदाताकोमा जाँदा त्यो खालको माया पाइरहेका छौं’, उनले भनिन् ‘यहाँको समस्या समाधानसहित जनताकै बीचमा बसेर पाँचवर्ष काम गर्नेछु ।
जिताएर त्यो अवसर प्रदान गरिदिनुहुनका लागि आग्रह गर्दछु ।’ कांग्रेस हेटौंडा–४ समितिले आयोजना गरेको कार्यक्रममा उनले सांसद् बन्नकै लागि मात्र निर्वाचनमा भाग लिन नआएको बताइन् । उनले सम्मून्नत नेपाल निर्माणको संकल्प लिएर कांग्रेस निर्वाचनमा आएको भन्दै उनले सुशासनयुक्त र सम्मून्नत नेपाल निर्माण कांग्रेसको संकल्प भएको बताइन् ।
उनले आफू जितेर गए पछि संविधानमा महिला, युवा, आदिवासी जनजातिलगायत समुदायको पक्षमा लेखिएका सवाललाई कार्यान्वयन गर्न लाग्ने बताइन् । ‘आज कांग्रेसको निर्णयले मुलुक निर्वाचनमा होमिएको छ । अघिल्लोपटक गठबन्धनको मत जोडेर ढुक्क भएर बस्नाले चुनावमा पराजित भए’, उनले भनिन् ‘यो पटक फेरिएको कांग्रेसका बदलिएका नेताहरु हामी एक भएर मकवानपुरमा चुनाव जित्ने र भिजन भएका युवा नेता गगन थापालाई प्रधानमन्त्री बनाउने गरी आएका छौँ ।’
जिल्लाको विकास र जनताका चाहना पूरा गर्नका लागि निरन्तर लागिपरेको भन्दै उनले जिताएर पठाएपछि नीति निर्माणसँगै नागरिकको सेवामा लाग्ने प्रतिबद्धता जनाइन् ।कार्यक्रममा कांग्रेसका समानुपातिकतर्फका उम्मेदवारहरु शर्मिला श्रेष्ठ, पवित्रा विश्वकर्मा लगायतका नेताको आतिथ्यता रहेको थियो ।







