बागमतीका ३३ निर्वाचन क्षेत्रमा १०८ महिला उम्मेद्वार
हेटौंडा- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनमा बागमती प्रदेशको १३ जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि कु्ल ३३ जनाले उम्मेद्वारी दिएका छन् । यो निर्वाचनमा ६ सय २३ पुरुष उम्मेद्वार र एकसय आठ महिला उम्मेदवार गरी सातसय ३१ उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन् । काठमाडौंका १० निर्वाचन क्षेत्रमा २ सय ५० जना उम्मेद्वार प्रतिस्पर्धामा छन् । काठमाडौंका यी निर्वाचन क्षेत्रमा ४६ जना महिला उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।बागमती प्रदेशकै सबै भन्दा बढी महिला उम्मेदवार निर्वाचनमा सहभागी रहेको जिल्ला काठमाडौँ हो ।
३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा कुल ६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ १८ जना महिला उमेद्वार चुनावीमैदानमा छन् । काठमाडौँपछि चितवनमा महिला उम्मेद्वारको संख्या बढी छ । २ वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ५७ जना उम्मेद्वारमध्य ९ जना महिला उम्मेद्वार छन् । ३ वटा निर्वाचन क्षेत्र रहेका ललितपुरमा ७१ जना उम्मेदवारमा ९ जना महिला छन् । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ४४ उम्मेदवारमध्ये सात महिला छन् । एउटा निर्वाचन क्षेत्र रहेको दोलखा र २ वटा निर्वाचन क्षेत्र रहेको धादिङमा ४–४ जना महिला उम्मेदवार चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । दोलखामा कुल ३३, धादिङमा कुल ४७ उम्मेद्वार छन् । २–२ वटा निर्वाचन क्षेत्ररहेको काभ्रेपलान्चोकमा र सिन्धुलीमा ३–३ जना महिला उम्मेद्वार छन् ।
काभ्रोपलान्चोकमा कुल ४२ र सिन्धुलीमा २८ जना उम्मेद्वार छन् । १–१ वटा निर्वाचन क्षेत्र रहेको रसुवा र रामेछापमा १–१ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । यस्तै २ वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा १ जना महिला उम्मेद्वार सहभागी छन् । रसुवामा १२, नुवाकोटमा ३० र रामेछापमा १७ जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हरि ढकालले बताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी बागमती प्रदेशका विभिन्न जिल्लामा तीव्र बनाइएको छ ।
जिल्लास्थित निर्वाचन कार्यालयले निर्वाचन व्यवस्थापनको तयारीसँगै निर्वाचनमा उम्मेदवार बनेका र राजनीतिक दलले आन्तरिक एवं बाह्य तयारीलाई तीव्र बनाएका हुन् । निर्वाचन कार्यालयले निर्वाचन सामग्री, निर्वाचन अधिकृतको कार्यालय कर्मचारी व्यवस्थापन र जिल्ला प्रशासन कार्यालयसहित सुरक्षाका निकायले सुरक्षा रणनीति र योजना बनाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेका छन् । राजनीतिक दल र उम्मेदवार मतदातासँग घेरदैलौ, कार्यकर्ता भेलालगायतका गतिविधि गर्दै मत पक्षमा पार्न लागेका छन् ।
मकवानपुरमा २०७९ को निर्वाचनमा मतदाताशिक्षाको अभावमा खसेको कुल मतको ४.४६ प्रतिशत मत बदर भएको थियो । यसपटक निर्वाचनमा बदरमत कम गर्ने लक्ष्यसहित जिल्लाको १०२ वटै वडामा मतदाताशिक्षा सञ्चालन भइरहेको छ । मतदाताशिक्षाका लागि स्वयंसेवक खटिएका छन् । मतदाताशिक्षा प्रभावकारी बनाउन प्रत्येक पालिकाबाट एक÷एक जना अनुगमनकर्तालाई जिम्मेवारी दिइएको छ । प्रत्येक वडामा बालविकास सहजकर्ता वा महिला स्वास्थ्य स्वयंसेविकालाई मतदाताशिक्षा स्वयंसेवककारुपमा परिचालनगरिएको छ ।







