एमाले उम्मेदवार रानाको घरदैलो अभियान तीव्र
हेटौंडा-नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रामेश्वर रानाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शनिबार हेटौंडा उपमहानगरपालिका–५ र ७ नम्बर वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् ।घरदैलोका क्रममा उम्मेदवार रानाले स्थानीय मतदातासँग भेटघाट गर्दै समृद्ध मकवानपुर निर्माणका लागि आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरेका थिए । विकास, रोजगारी, सुशासन र जनताको जीवनस्तर उकास्ने विषयलाई केन्द्रमा राख्दै उनले विगतको अनुभव र क्षमताका आधारमा आफू सक्षम प्रतिनिधि हुने दाबी गरे ।
रानाले मकवानपुरको समग्र विकासका लागि आफूले सशक्त भूमिका खेल्ने विश्वास दिलाउँदै मतदातासँग सहयोग र समर्थनको आग्रह गरेका छन् । स्थानीय बासिन्दाले रानाको सरल, जनमुखी र विकासप्रेमी नेतृत्वप्रति भरोसा व्यक्त गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन् । घरदैलो कार्यक्रममा देखिएको जनउत्साहले मकवानपुर–१ मा एमालेको चुनावी माहोल थप सुदृढ बन्दै गएको संकेत गरेको छ । नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ता, शुभेच्छुक र समर्थकको उल्लेख्य उपस्थितिसहित सम्पन्न घरदैलो अभियानले पार्टीप्रतिको जनविश्वास अझ बढ्दै गएको नेताहरुले बताएका छन् । फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार रानाले जनताको घरदैलोमै पुगेर मतदाताको मन जित्ने अभियानलाई तीव्र बनाउदै लगेका छन् ।







