मकवानपुर २ मा जितका लागि दवाव बढाउँदै कांग्रेस

साझाकुरा
२०८२ फाल्गुन १२, मंगलवार १४:४८

हेटौंडा-यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ नेपाली कांग्रेसले चुनावी गतिविधि तीव्र बनाएको छ ।कांग्रेसले क्षेत्र नम्बर २ को वडा र टोलस्तरमा पुगेर घरदैलोसँगै अगुवा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएको हो । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा उम्मेदवार रहेका यस क्षेत्रमा कांग्रेसले जितका लागि दवाव बढाउँदै लगेको छ । कांग्रेसले चुनावी गतिविधिलाई तीव्र बनाउने क्रममा थाहा नगरपालिकाको डाँडाबासमा दुई छुटाछुट्टै कार्यक्रम सम्पन्न भएको छ । कैलाश गाउँपालिका वडा नम्बर १, २, ५ र ६ तथा थाहा नगरपालिका वडा नम्बर ७ र ८ को कोणसभा एवम् प्रतिबद्धतासभा भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जयराम लामिछानेले लोकतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धिका लागि निर्वाचनमा कांग्रेसले जित्नु पर्ने बताएका छन् ।

उनले अहिलेको अस्थिरतालाई चिर्दै कांग्रेसले मात्रै शान्ति, समन्वय र समृद्धिको यात्रा लैजानसक्ने बताए । कांग्रेस बागमती प्रदेश समितिका सभापति एवम् बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अहिलेको निर्वाचन जलाउने र बनाउनेबीच भएको भन्दै जनताले विकास गर्ने र बनाउनेलाई रोज्नुपर्ने बताए । क्षेत्र नम्बर २ का उम्मेदवार लामाले कांग्रेसले जित्दा मात्र विकास हुने भन्दै आफूले कुराभन्दा काममा विश्वास गर्ने बताएका छन् । वडासभापति शिवराम थिङको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक, क्षेत्र नम्बर २ का संघीय सभापति लोक मुक्तान, थाहानगर समितिका सभापति प्रमोद जोशी, कैलाश गाउँपालिका समितिका सभापति राजेन्द्र घिसिङ, कांग्रेसका नेताहरु भरत लामा, रत्न गोले लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*