हेटौंडा फुटबल एकेडेमी र हाइल्याण्ड वारियरबीच प्रतिस्पर्धा

साझाकुरा
२०८३ श्रावण २१, बिहीबार १२:५६

हेटौंडा- छिमेकी मूलूक भारतको पश्चिमवंगाल प्रदेशको कालिम्पोङ जिल्लास्थित मुनसोङमा ८० औं इन्डिपेन्डेन्स डे अर्थात स्वतन्त्र दिवसको अवसरमा सञ्चालित फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी र हाइल्याण्ड वारियरबीच प्रतिस्पर्धा हुने भएको छ ।बिहीबार प्रिक्वार्टरफाइनल चरणको खेलमा हेटौंडा फुटबल एकेडेमी र हाइल्याण्ड वारियर क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । दुबै टोली जीतको लक्ष्यसहित मैदानमा उत्रनेछन् । खेल दिउँसो साढे १ बजेबाट सुरुहुने टिम म्यानेजर छिरिङ लामाले जानकारी दिएका छन् ।

राउण्ड अफ ३२ को पहिलो खेलमा साविकविजेता समेत रहेको हेटौंडा फुटबल एकेडेमीले माम्रिङ ब्वाइजलाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रिक्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने पहिलो राउण्ड अफ ३२ को खेलमा हाइल्याण्ड वारियरले एनजेसी सिम्केलाई ३–१ गोलले हराउँदै हाइल्याण्ड वारियरले प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

हेटौंडा फुटबल एकेडेमीको टोलीले यो सँगै सिक्किममा इन्डिपेन्डेनस डे को अवसरमा सञ्चालन भइरहेको अन्य विभिन्न फुटबल प्रतियोगितामा सहभागिता जनाएको छ । मुनसोङ स्पोर्टस् क्लबको आयोजनामा जुलाई २६ तारिखबाट सुरु भएको फुटबल प्रतियोगिताको फाइनल खेल भने अगष्ट १५ अर्थात इन्डिपेन्डेनस डे को दिन हुनेछ । विगत ३ वर्षदेखि भारतको सिक्किमसहित पश्चिमवंगाल प्रदेशको कालिम्पोङ जिल्लाको मुनसोङमा सञ्चालित प्रतियोगितामा एकेडेमीले सहभागिता जनाउँदै आएको छ ।

यद्यपि एकेडेमीको टोलीले ३ वर्षको अवधिमा मुनसोङको फुटबल प्रतियोगितामा पहिलो वर्ष उपविजेता बनेको छ भने दोस्रो र तेस्रो वर्ष लगातार उपाधि उचालेको छ । गतवर्षको फुटबल प्रतियोगितामा एकेडेमीले आर्दश युथ क्लब सिङतानलाई ४–१ गोलले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । क्लबले यसवर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*