इन्डिपेन्डेन्स डे फुटबलमा हेटौंडाको गोल वर्षा

साझाकुरा
२०८३ श्रावण २२, शुक्रबार १२:३८

हेटौंडा-भारतको पश्चिमबंगाल राज्यअन्तर्गत् कालिम्पोङ जिल्लाको मुनसोङमा जारी ८० औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी क्वार्टरफाइनलमा प्रवेशगरेको छ ।बिहीबार सम्पन्न प्रिक्वार्टरफाइनल चरणको खेलमा एकेडेमीले हाइल्याण्ड वारियरलाई १३–२ गोलको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । हेटौंडाले आक्रामक खेल प्रदर्शन गर्दै गोलको वर्षा गरेपछि हाइल्याण्ड वारियरको प्रतियोगिता यात्रा समाप्त भएको छ । खेलको सुरुवातदेखि नै एकेडेमीले बलमाथि नियन्त्रण कायम गर्दै विपक्षी टोलीमाथि निरन्तर दबाब सिर्जना गरेको थियो । हेटौंडाका खेलाडीले आक्रमण र रक्षात्मक दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गरेपछि हाइल्याण्ड वारियरले खेलमा फर्किने अवसर पाउन सकेन ।

रक्षात्मक रणनीतिका साथ मैदानमा उत्रिएको हाइल्याण्ड वारियरले हेटौंडाको पोस्टमा प्रभावकारी आक्रमण गर्न सकेन । अर्कोतर्फ हेटौंडाका खेलाडीले लगातार विपक्षी पोस्टमा प्रहार गर्दै गोल थप्दै गए । बल नियन्त्रण, पासिङ र आक्रमणको समन्वयमा उत्कृष्ट देखिएको हेटौंडाले खेललाई एकतर्फी बनायो । एकेडेमीका लागि कृष्ण आलेमगरले उत्कृष्ट प्रदर्शन गर्दै एक्लैले ८ गोल गरे । यस्तै हेमन्त भुजेल, गणेश भुजेल, दिलेन लिम्बु र सन्तोष गोङ्बाले समान एक–एक गोल गरे । हेटौंडाले एकगोल आत्मघाती उपहारसमेत पाएको थियो । हाइल्याण्ड वारियरले भने दुई गोल फर्काउन सफल भयो ।

यसअघि एकेडेमीले राउन्ड अफ ३२ को खेलमा माम्रिङ ब्वाइजलाई ८–१ गोलअन्तरले पराजित गरेको थियो । लगातार दुई खेलमा ठूलो गोलअन्तरको जित निकाल्दै हेटौंडाले प्रतियोगितामा आफ्नो बलियो दाबेदारी प्रस्तुतगरेको छ । मुनसोङ स्पोर्टस् क्लबको आयोजनामा जुलाई २६ तारिखबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल आगामी अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसका दिन हुनेछ । यस वर्षदेखि आयोजकले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गरेको छ ।हेटौंडा फुटबल एकेडेमीले यस प्रतियोगितासहित सिक्किम र पश्चिमबंगाल क्षेत्रमा आयोजना हुने विभिन्न फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । पछिल्लो तीन वर्षदेखि मुनसोङमा सहभागी हुँदै आएको हेटौंडाले पहिलो वर्ष उपविजेता बनेको थियो भने दोस्रो र तेस्रो वर्ष लगातार उपाधि जित्न सफल भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*