मुनसोङको फुटबलमा हेटौंडा एकेडेमी सेमिफाइनलमा
हेटौंडा- भारतको पश्चिमबंगाल राज्यअन्तर्गत् कालिम्पोङ जिल्लाको मुनसोङमा जारी ८० औँ इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वार्टरफाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीले फारम ब्वाइजलाई ८–१ गोलको फराकिलोअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । हेटौंडा फुटबल एकेडेमीले प्रतियोगितामा लगातार तेस्रो खेलमा फराकिलो जित निकाल्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ । क्वार्टरफाइनलमा टोलीका लागि कृष्ण आलेमगरले ह्याट्रिक पूरा गरे । कुमार लामा र पवन तामाङले समान दुई गोल गर्दा दिवस श्रेष्ठले एक गोल थपे । खेलको सुरुदेखि नै आक्रामक देखिएको हेटौंडा फुटबल एकेडेमीले फारम ब्वाइजमाथि निरन्तर दबाब सिर्जना गरेको थियो । हेटौंडाका खेलाडीले बलमाथि राम्रो नियन्त्रण राख्दै विपक्षीको रक्षापंक्तिलाई दबाबमा राखेका थिए ।
फारम ब्वाइजले केही अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत गर्न सकेन । हेटौंडाले भने प्राप्त अवसरको सदुपयोग गर्दै गोलअन्तर फराकिलो बनाएको हो । क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेका कृष्ण आलेमगर खेलको म्यान अफ द म्याच घोषित भए । उनले म्यान अफ द म्याचसँगै गोल्डेन बुटसमेत प्राप्त गरे ।
अब हेटौंडा फुटबल एकेडेमीले अगस्ट ११ मा प्रतियोगिताको सेमिफाइनल खेल्नेछ ।
एकेडेमीले प्रतियोगिताको राउन्ड अफ ३२ को पहिलो खेलमा घरेलु टोली सिक्किमको माम्रिङ ब्वाइजलाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा हाइल्याण्डर वारियरलाई १३–२ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । लगातार तीन खेलमा विपक्षीको पोस्टमा २९ गोल गरेको हेटौंडाले ४ गोल मात्र बेहोरेको छ । एकेडेमीले भारतको सिक्किम तथा पश्चिमबंगालको कालिम्पोङ जिल्लामा आयोजना हुने इन्डिपेन्डेन्स डे फुटबल प्रतियोगितामा विगतदेखि नै सहभागिता जनाउँदै आएको छ ।
मुनसोङमा आयोजना हुँदै आएको प्रतियोगितामा हेटौंडाले पछिल्ला तीन वर्षदेखि सहभागिता जनाउँदै आएको हो । पहिलो वर्ष उपविजेता बनेको हेटौंडाले त्यसपछिका दुईवर्ष लगातार उपाधि जितेको थियो । यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको हेटौंडाले सेमिफाइनलसम्मको यात्रा तय गरिसकेको छ । मुनसोङ स्पोट्र्स एसोसिएसनको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता अगस्ट २६ बाट सुरु भएको हो भने फाइनल खेल इन्डिपेन्डेन्स डे अर्थात् अगस्ट १५ का दिन हुने आयोजकले जनाएको छ ।







