कृषि सहकारीको ऋण लगानी २५ करोड
हेटौंडा-मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड हाडीँखोलाले आफ्ना शेयर सदस्यलाई २५ करोड १० लाख ८० हजार ६ सय ८८ रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीको १२ औं वार्षिक सधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार सहकारीले आफ्ना शेयर सदस्यलाई २५ करोड १० लाख ८० हजार ६८८ कर्जा लगानी गरेको छ भने ८ करोड ८९ लाख ७८ हजार १८४ रुपैयाँ बचत रकम रहेको छ । सहकारीले बाह्य ऋण १६ करोड ८० लाख ८५ हजार लिएर आफ्ना शेयर सदस्यलाई लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।
१ करोड ८० लाख ५८ हजार २ सय शेयर पुजीँ रहेको सहकारीले आव २०७७÷०७८मा ३१ करोड ६२ लाख ११ हजार ४१९ बराबरको कारोबार गरेको छ । सहकारीले गत आर्थिक बर्षमा ५७ लाख ५४ हजार रुपियाँ आम्दानी गरेको छ भने हालसम्म २५ करोड १० लाख रुपैयाँ लगानी गरेको छ । सहकारीमा ४०९ वटा समूहमा २ हजार ४ सय ७५ जना शेयर सदस्यहरु आबद्ध छन् । साधारणसभामा संस्थाकी अध्यक्ष राधिका ठकुरीले गत आर्थिक बर्षमा गरिएको आर्थिक र सामाजिक क्षेत्रका काम कारबाही तथा चालू आर्थिक बर्षमा भइरहेका कार्यक्रमहरुको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी संस्थाका प्रबन्धक सुरेन्द्र तितुङको तर्फबाट गत आर्थिक बर्षको आर्थिक कारोबारबारेको प्रतिवेदन प्रस्तुत भएको थियो । लेखा समितिका तर्फबाट देवीमाया तामाङको तर्फबाट आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत भएकोमा सबै प्रतिवेदनहरु पारित गरिएको थियो ।
साधारणमा सभामा साना किसान विकास लघु वित्त बैंक इलाका प्रवन्धक कृष्णकुमारी शर्मा, मनहरी साना किसान कृषि सहकारीका अध्यक्ष विमला कार्की, वडा नम्बर ३ का अध्यक्ष विष्णुबहादुर थिङ, ४ का अध्यक्ष धु्रव खड्का, सहकारीका संस्थापक अध्यक्ष निर्मला उप्रेती , लेखा संयोजक देवी तामाङ लगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभामा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा साना किसान बैंककी प्रबन्धक कृष्णकुमारी शर्मा, साना किसान कृषि सहकारी संस्था मनहरीकी अध्यक्ष बिमला कार्की, सोही संस्थाका प्रबन्धक ज्योति सुवेदी, साना किसान कृषि सहकारी संस्था लामिटारका सल्लाहकार नरहरि नन्दन उप्रेती, ४ नं वडाध्यक्ष धु्रव खड्का लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रम संस्थाकी अध्यक्ष राधिका ठकुरीको सभाध्यक्षतामा भएको हो ।







