बागमतीमा सरकार विस्तार गर्न कार्यदल गठन
हेटौंडा- गठबन्धनको शिर्ष तहमा सत्ता साझेदार दलहरुबीच मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन बन्न पुग्यो । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको बैठक मन्त्रालय भागबण्डा नमिलेर निष्कर्षहीन बनेको हो । संघीय सरकारमा जस्तै, बागमती प्रदेश सरकार विस्तारमा पनि गठबन्धनको प्रदेश तहमा अलमल छ । संघीय सरकारमा मन्त्रिमण्डलको भागबण्डा नमिले जस्तै बागमतीमा पनि सरकार विस्तारमा सकस देखिएको हो । मन्त्रालय संख्या भन्दा बढी मन्त्रालयमा दाबी परेपछि मंगलबार गठबन्धनका दुई दलले कार्यदल गठन गरेका छन् । काठमाडौंमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलको बैठकपछि कार्यदल गठन गर्ने निर्णय भएको छ ।
बागमतीमा कार्यदलले मन्त्रालय भागबण्डाको टुंगो लगाउने भएको हो । ११ वटा मन्त्रालय संख्या रहेको बागमती सरकारमा नेपाली कांग्रेसले ६, नेकपा (एकीकृत समाजवादी) ले ३ र हाम्रो नेपाली पार्टीले १ मन्त्रालयमा दाबी गरेको छ । २५ पुसमा नेकपा एमाले र राप्रपासहितको गठबन्धनबाट सरकार गठन हुँदा माओवादी केन्द्रले लिएको ४ वटा मन्त्रालय कायम छ । माओवादीले लिइरहेको ४ वटासहित सरकार बाहिर रहेका ३ दलले ९ वटा मन्त्रालयमा दाबी गरेपछि मुख्यमन्त्री जम्कट्टेललाई भागबण्डा मिलाउन सकस देखिएको हो ।
सरकार विस्तारको सम्बन्धमा छलफल गर्न कांग्रेस बागमती संसदीय दलका नेता लामा र मुख्यमन्त्री जम्कट्टेल काठमाडौंमा बसेपछि कार्यदल बनेको हो । कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार रहेका छन् । कार्यदलमै पनि भागबण्डाअनुसार सहभागिता छ । ७ सदस्यीय कार्यदलमा कांग्रेसले संयोजकसहित ३ सदस्य, माओवादी केन्द्रबाट २ जना, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट २ जना छन् । कार्यदलको सदस्यमा कांग्रेसबाट कुन्दनराज काफ्ले, तीर्थ लामा, माओवादीबाट सरल सहयात्री, रत्न ढकाल, हाम्रो नेपाली पार्टीबाट सैलेन्द्रमान बज्राचार्य र एकीकृत समाजवादीबाट एक प्रतिनिधि रहेका छन् । एकीकृत समाजवादीको प्रतिनिधिको नाम भने नटुंगिएको संयोजक चित्रकारले जानकारी दिए ।
चित्रकारका अनुसार कार्यदलले तत्काल मन्त्रिमण्डल भागबण्डा टुंगाएर पेस गर्ने भएको छ । कार्यदलका सदस्य तथा माओवादी केन्द्रका सांसद सरल सहयात्रीले हप्ता दिनभित्र सरकार भइसक्ने जानकारी दिए । बिहीवार कार्यदलको बैठक बसेर दलहरुको दाबीमाथि छलफल हुने उनले बताए । ‘मन्त्रालय संख्या भन्दा बढीमा दाबी परेको छ । अब कार्यदलले भागबण्डा टुंगो लगाउन समन्वय गर्छ । मन्त्रालय संख्या वृद्धि नगर्नेमा सबै दलहरु एकमत छन् । ११ वटै मन्त्रालयभित्र भागबण्डा हुन्छ’, सहयात्रीले भने ।
कांग्रेसले केन्द्रीय गठबन्धनमा भागबण्डा नलागी बागमतीमा सरकार विस्तार नहुने अडान लिँदै आएको छ ।
सांसद संख्याअनुसार मन्त्रालय भागबण्डा हुनुपर्ने बताउँदै आएको कांग्रेसले केन्द्रकै मोडालिटीमा भागबण्डा टुंग्याउने तयारी गरेको हो । बागमतीमा नेकपा माओवादी केन्द्रबाट जम्कट्टेल मुख्यमन्त्री छन् । उनले १० चैतमा दोस्रो पटकको विश्वासको मत पाएसँगै गठबन्धनमा मुख्यमन्त्रीको लडाई लगभग सकिएको हो । १० चैतमा बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले दोस्रोपटक विश्वासको मत लिँदै सरकार निरन्तरताको योजनामा सफल बनेका थिए । विश्वासको मत पाएसँगै जम्कट्टेल सरकार विस्तारको तयारीमा पनि छन् ।
मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालयलगायत चार वटामा माओवादी केन्द्रका मन्त्रीहरु नै छन् । बाँकी ७ वटा मन्त्रालय बाँडफाँड हुनेछ । तर, नेपाली कांग्रेसले ६ वटा मन्त्रालयमा दाबी गरेपछि गठबन्धनकै नेकपा (एकीकृत समाजवादी) ले एउटा मन्त्रालय पाउने देखिन्छन् । तर, एकीकृत समाजवादीले एउटा मन्त्रालयमा चित्त नबुझाउने सांसदहरु बताउँछन् । मुख्यमन्त्री आफैंले हाल ७ वटा मन्त्रालय सम्हाल्दै आएका छन् । सरकार गठन हुँदा मन्त्रिपरिषद्मा गएका नेकपा एमाले र राप्रपाले राजीनामा दिएपछि रिक्त मन्त्रालयको काँध जम्कट्टेलले थामिरहेका छन् ।
२५ पुसमा नयाँ सरकार गठन भएपछि लागेको भागबण्डामा एमालेले ४ वटा र राप्रपाले ३ वटा मन्त्रालय पाएको थियो । राप्रपाले १३ फागुनमै सरकारलाई दिएको समर्थन फिर्तासहित मन्त्रीबाट राजीनामा दिएको थियो भने एमालेले १० गते राजीनामा दिएको हो ।सत्तामा नहुँदा पनि पहिलोपटक मुख्यमन्त्रीलाई विश्वासको मत दिएको स्मरण गर्दै कांग्रेस मुख्य सचेतक कुन्दनराज काफ्लेले सांसदको सिट संख्याको आधारमा मन्त्रालय भागवण्डा गरिनुपर्ने बताए । उक्त हिसाबले हेर्दा कांग्रेसको भागमा ६ वटा मन्त्रालय पर्न आउने उनको भनाई छ ।
प्रदेशसभामा २ सिट रहेको हाम्रो नेपाली पार्टीले पनि एउटा मन्त्रालयमा दाबी गरेको छ । हाम्रो नेपाली पार्टीले अघिल्लो गठबन्धनमा पनि मन्त्रालय दाबी गरेको थियो । तर, केन्द्रीय गठबन्धनमा हाम्रो नेपाली पार्टी सहभागी नभएकाले र ठूला दललाई भाग कम हुने भएपछि बागमतीमा मन्त्रालय दिने सम्भावना कम रहेको बुझिन्छ । सरकारलाई समर्थन गरेकाले हाम्रो नेपाली पार्टीलाई कार्यदलमा राखिएको र सरकारमा सहभागी गराउने वा नगराउने पछि छलफल हुने कार्यदल संयोजक चित्रकारले बताए ।







