बागमतीका ७१ पालिकामा न्यायिक सहजकर्ता राख्ने तयारी
हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेशका मकवानपुरसहित अन्य जिल्लाका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न न्यायिक सहजकर्ता नियुक्त गर्ने भएको छ ।यसका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गाउँपालिकाहरुमा न्यायिक सहजकर्ता नियुक्तिका लागि भन्दै मंगलबार सूचना प्रकाशन गरेको छ । प्रदेशको ११ जिल्लाका ७१ पालिकामा सहजकर्ता नियुक्तिको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका सचिव ध्रुब गैंडाले जानकारी दिए । सचिव गैंडाका अनुसार प्रदेशको ७४ मध्ये ७१ वटा गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तिका लागि मंगलबार सूचना प्रकाशन गरेको हो ।
मन्त्रालयले न्यायिक सहजकर्ताहरुलाई करारमा नियुक्त गर्न लागेको सचिव गैंडाले जानकारी दिए । उनले सम्बन्धित गाउँपालिकाको समन्वयमा प्रतिपालिका एकजना सहजकर्ता नियुक्त गर्ने गरी सूचना जारी गरिएको बताए । गाउँपालिकामा रिक्त रहेका सहायकस्तर पाँचौँ तहमा न्यायिक सहजकर्ताको पदपूर्तिका लागि २०८१ असार मसान्तसम्मका लागि करारमा पदपूर्ति गर्न मन्त्रालयले सूचना निकालेको उनको भनाइ छ ।
स्थानीय न्यायिक सहजकर्ता ‘नियुक्ति तथा परिचालन’ कार्यविधि, २०८० बमोजिम मन्त्रालयले ललितपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रामेछाप, दोलखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका ७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्त गर्न सूचना जारी गरेको हो । तर, प्रदेशका तीनवटा गाउँपालिकाले भने प्रदेश सरकारमार्फत न्यायिक सहजकर्ता नियुक्त नगर्ने जनाएका छन् । सचिव गैंडाका अनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले भने न्यायिक सहजकर्ता माग गरेका छैनन् ।
उनले ती गाउँपालिकाले आफ्नै स्रोतबाट न्यायिक सहजकर्ता नियुक्त गर्ने गरी प्रदेश सरकारमार्फत् माग नगरेको बताए । सचिव गैंडाका अनुसार यो पदका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् भने स्थानीय र कानुन अध्ययन गरेकाहरुलाई प्राथमिकता दिइनेछ । यो पदका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा आवेदन दिन सक्ने बताइएको छ ।







