स्वास्थ्यकर्मीद्वारा प्रदेशसभामा प्रदर्शन, सेवामा फर्कन मन्त्रीको आग्रह

हेटौंडा- मकवानपुरमा विगत ३ दिनदेखि आन्दोलित स्वास्थ्यकर्मीहरुले शनिवार बागमती प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् ।प्रदेशसभा भवन अगाडि प्लेकार्ड बोकेर जम्मा भएका चिकित्सकहरुले सुरक्षा माग गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् । सञ्चो अस्पतालका चिकित्सक कुटपिटको घटनापछि आन्दोलित बनेका उनीहरुले सुरक्षा माग र दोषिलाई कारबाही माग गर्दै प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।
हेटौंडा–१, स्थित सञ्चो हस्पिटल प्रालिमा २७ भदौमा डा. विकास थापा र डा. प्रशान्त विडारी कुटिएपछि आन्दोलित बनेका स्वास्थ्यकर्र्मीले शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्पसमेत पारेका छन् । दोषीलाई कारबाही गर्नुपर्ने, राज्यले स्वास्थ्यकर्र्मीको सुरक्षा दिनुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।
विरोध प्रदर्शनमा पुगेका चिकित्सकहरुले ‘अब त अति भो, स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस हो ?, उपचारका लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार, सुरक्षा नपाएसम्म सेवा नदिने’ जस्ता प्लेकार्ड बोकेका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले कुटपिटमा संलग्न भएको आरोपमा हेटौंडा–१२, पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले चिकित्सक माथि भएको घटनाको भत्र्सना गरे । प्रदेशसभा सचिवालय भवन अगाडि घटनाको विरोधमा न्याय माग्दै प्रदर्शनमा उत्रिएका चिकित्सकहरुको प्रश्नलाई सम्बोधन गर्दै सरकार चिकित्सकको हकहित र सुरक्षामा गम्भीर रहेको उनले बताए । मन्त्री जोशीले स्थानीय प्रशासनको कमिकमजोरीलाई सुधार गरेर आगामी दिनमा चिकित्सक तथा आमनागरिकहरुलाई सहज र सुरक्षित जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकारले भूमिका खेल्ने विश्वास दिलाए । उनका अनुसार चिकित्सक माथि भएको घटनामा संलग्नलाई हदैसम्मको कानुनी कारबाही गरिने छ ।
गत बुुधबार भएको घटनाका विषयमा प्रहरी प्रशासनलाई गम्भीर भएर छानबीन गर्न र घटनामा संलग्न र अदृश्य पात्रलाई समेत पक्राउ गर्न निर्देशन दिएको उनले बताए । ‘यो प्रतिनिधि मूलक घटना हो । यसमा पक्राउ परेका व्यक्ति मात्र घटनामा संलग्न छैनन् । यस घटनामा धेरै विषयहरु जोडिएर आएको छ । त्यसमा अनुसन्धान गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिएको छु ।’, उनले भने, ‘घटनामा संलग्न वा अदृश्य पात्र पनि पक्राउ गरी कारबाही हुन्छ । यसमा तपाईहरु विश्वस्त रहनुहोला । प्रक्रियागत रुपमा अघि बढ्दा केही समय लाग्न सक्छ । प्रहरीले पनि घटनामा संलग्न अन्य पात्रको नजिक नजिक पुगेको जानकारी दिएका छन् ।
सरकार चिकित्सकमाथि भएको कुटपिटका विषयमा गम्भीर छ ।’,मन्त्री जोशीले चिकित्सकहरुलाई आन्दोलनको स्वरुप परिवर्तन गरी स्वास्थ्यसेवा प्रवाहमा फर्कन आग्रह गरे । आन्दोलनका कारण जिल्लाकै एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा शुक्रबार बिहानदेखि गेटमा ताला लागेको छ । दैनिक १ हजारको हाराहारीमा उपचार गराउने आउने बिरामी अस्पताल आएर फर्किनुपरेको छ । अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न शुक्रबार तीन दिनको म्याद थप गरिएको छ ।