प्रकृतिसँग रमाउने पर्व उँधौलीः प्रदेशप्रमुख शर्मा
हेटौंडा- बागमती प्रदेशका प्रदेशप्रमुख यादवचन्द्र शर्माले किराँत समुदायमा मंगलबार मनाउँदै गरेको उँधौली पर्वका सन्दर्भमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै प्रदेशप्रमुख शर्माले देशका आदिवासी जनजातिहरु प्रकृतिसँग जीवनका हरेक पक्षहरुसँग एकाकार हुँदै आएको बताए । प्रकृतिसँग रमाउने विशेषताको एकपक्ष उँधौली पर्व भएको शर्माको जोड छ । यो पर्वले विश्वसामु पहिचान बनेको उल्लेख गर्दै प्रमुख शर्माले भनेका छन्, ‘आफ्नै मौलिक सभ्यता तथा संस्कृति रहेको किराँतहरुको यस महान् पर्वले विश्वसामु हाम्रो पहिचान बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।’,
हाम्रो परम्परा, भेषभूषा, चालचलन, चाडपर्व एवम् संस्कृतिमा विविधता रहेको भन्दै प्रमुख शर्माले यही विविधताका कारण विभिन्न समुदायमा छरिएका हामीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व तथा एकता कायम रहेको उल्लेख गरे । यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवद्धि गर्दै राष्ट्रिय एकता सुदृढ गर्न प्रेरित गर्नेछ भन्नेमा आफू विश्वस्त रहेको प्रमुख शर्माको सन्देशमा छ ।







