बागमतीको बजेटमा सांसदको असन्तुष्टि

साझाकुरा
२०८१ असार १४, बिहीबार १२:५८

हेटौंडा- बागमती प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत बजेटमाथि सत्तापक्ष र विपक्षी सांसदले नै कटाक्ष गरेका छन् ।बुधवारको बैठकमा सांसदहरुले बजेट सन्तुलित नभएको, व्यक्तिकेन्द्रित बजेट विनियोजन गरेको, बिचौलिया हाबी भएको भन्दै विरोध जनाएका हुन् । बुधबार बसेको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै प्रतिपक्ष र सत्तापक्षका अधिकांश सांसदले चर्को असन्तुष्टि व्यक्त गरेका हुन् । बुधबार बसेको २ वटा बैठकमा सत्तापक्षका ११ र प्रतिपक्षका २८ जना सांसदले धारणा राखेका थिए ।

सत्तारुढ दल नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले सरकारको बजेटमा सबै सांसद असन्तुष्ट रहेको बताए । सरकारले सांसदको असन्तुष्टिका विषयको कारण खोज्नुपर्ने आवश्यकता रहेको उनले बताए । सरकारले विगत वर्षदेखि एउटै सूत्र प्रयोग गरेर काम गरिरहेको र फरक नतिजाको अपेक्षा गरिरहेको खनालको भनाइ छ ।सरकारले नीतिगत समस्या, योजना छनोट प्रक्रियामा कमजोरी गरेको उनले औँल्याए । मन्त्री र कर्मचारीको उच्च आकांक्षाका कारण बजेटमा बिचौलियाको प्रवेश भएको उनले बताए । माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले मौका पर्दा आफ्नो मात्र दुनो सोझ्याउनु निकृष्ट हुने टिप्पणी गरे । उनले नेतृत्वले युग बदल्ने, कर्तव्य पालन गर्ने वा परिस्थितिको सामना गरेर अघि बढ्न खोज्ने काम गर्नुपर्ने बताए ।

पौडेलले मन्त्रालयको पुनर्संरचना गर्नुपर्नेमा पनि जोड दिए । नीति तथा कार्यक्रम महत्वाकांक्षी ल्याउने अनि बजेट ५० लाख बाँड्ने काम गर्न नहुने उनको भनाइ छ । सत्ता साझेदार दल नेकपा एमालेका सांसद डा. दिनेशचन्द्र देवकोटाले सरकारका कारण संघीयता कार्यान्वयनमा चुनौती आएको बताए । बजेटको सन्दर्भमा कार्यशैली, कार्यक्षमता, अभिवृद्धिमा सरकारले चिन्तन गर्नुको साटो आफ्नो क्षेत्र केन्द्रित भएको उनको आरोप छ ।दलका नेताहरु कुना÷कुनामा बसेर बजेट आ–आफ्नो क्षेत्रमा लैजाने काम भइरहेको आरोप लगाउँदै उनले यसतर्फ सचेत हुनुपर्ने बताए । ‘समग्र प्रणालीलाई हेर्दा समस्याको बीचबाट अहिलेको बजेट आएको छ । आर्थिक मन्दीका कारण राजस्व उठाउन नसकिरहेको, राष्ट्रिय पुँजी निर्माणमा चुनौती रहेको परिस्थिति छ । यस्तो अवस्थामा कस्तो बजेट ल्याउने भन्ने विषयमा सरकारले सोच्न आवश्यक थियो,’ उनले भने, ‘तर, हुन सकेन । यो प्रणालीलाई परिवर्तन गर्न जरुरी छ ।,’

बैठकमा एमाले सांसद कृष्णप्रसाद सापकोटाले बजेटलाई सन्तुलन गर्न नसक्दा व्यवस्थाप्रति प्रहार भइरहेको बताए । सरकारले बजेटमा भौगोलिक अवस्थालाई बेवास्ता गर्दा संघीय व्यवस्थामा चुनौती थपिएको भन्दै उनले संसदीय व्यवस्थालाई जनताप्रति जवाफदेही बनाउनु पर्ने खाँचो औँल्याए । बजेटलाई मन्त्री र पहुँचवाला सांसद केन्द्रित गरेको उनको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*