नागस्वती भेट्रान्स कप फुटबल आयोजक, हेटौंडा र चितवनको जित, एकैदिन दुई ह्याट्रिक

साझाकुरा
२०८१ मंसिर ५, बुधबार १०:२२

हेटौंडा- हेटौंडामा मंगलबारदेखि तेस्रो नागस्वती भेट्रान्स ‘एट–ए’ साइड फुटबल प्रतियोगिता सुरु भएको छ । एकैदिन भएको तीन खेलामा दुई खेलाडीले ह्याट्रिक पूरा गरे ।नागस्वती भेट्रान्स क्लबद्वारा आयोजित प्रतियोगितामा आयोजक, हेटौंडा र चितवन भेट्रान्सले विजयी सुरुवात गरेका छन् । आयोजक नागस्वती भेट्रान्स ‘ए’ ले घरेलुमैदानमा एन.जे.जे.भिसि भेट्रान्स सिमरालाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको १२, २७ र ३३ औं मिनेटमा नागस्वती भेट्रान्सका तर्फबाट डेबिन श्रेष्ठले ह्याट्रिकगरे । एन.जे.जे भेट्रान्सको तर्फबाट रत्नबहादुर खत्रीले एक गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच नागस्वती भेट्रान्सका डेबिन श्रेष्ठ घोषित भएका छन् ।मंगलबारको दोस्रो खेलमा हेटौंडा भेट्रान्स विजयी भएको छ । हेटौंडाले पश्चिम चितवन भेट्रान्सलाई ४–० गोलअन्तरले हराएको छ । खेलको १४, ५१ र ५२ औं मिनेटमा हेटौंडाका लागि रितेस थापाले ह्याट्रीक गरे । सुबिन घिमिरेले २३ औं मिनेटमा गोल गरेपछि हेटौंडाको फराकिलो जित भयो । खेलको म्यान अफ द म्याच हेटौंडा भेट्रान्सका रितेस थापा घोषित भए ।

तेस्रो खेलमा चितवन भेट्रान्सले निजगढ भेट्रान्सलाई २–१ गोलले निरीह बनायो । चितवनका तर्फबाट खेलको १७ औं मिनेटमा सुरेन्द्र चौधरी र ३९ औं मिनेटमा विष्णु दराईले गोल गरे । निजगढ भेट्रान्सका तर्फबाट खेलको २४ औं मिनेटमा भीम लामाले गोल गरेका थिए । लामाको गोलसँगै बराबरीमा आएको खेलमा निजगढ सम्हालिन नसक्दा चितवनले एक गोल थप्न पुग्यो । खेलमा चित्तवनका विष्णु दराई म्यान अफ द म्याच चुनिए ।

हेटौंडा उपमहानगरपालिका–७ का वडाअध्यक्ष दामोदर गौतमले प्रतियोगिताको उद्घाटन गरे । उनले स्वस्थ्य बन्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताए । नागस्वती भेट्रान्स क्लबले छोटो समयमा वडासँगै जिल्ला चिनाउन ठुलो भूमिका खेलेको उनको भनाई थियो । वडा तहबाट खेलक्षेत्रका लागि आवश्यक बजेट बिनियोजन गरेको बताउँदै उनले आगामी दिनमा सहयोग बढाउँदै जाने प्रतिबद्धता जनाए ।

प्रतियोगिता ८ मंसिरसम्म सञ्चालन हुनेछ । क्लबका अध्यक्ष सोमबहादुर तितुङले प्रतियोगिताको विजेतालाई २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगदसहित शिल्ड, मेडल पुरस्कार रहेको जानकारी दिए । प्रतियोगितामा देशभरका १५ वटा भेट्रान्स क्लबको सहभागिता छ । चारवर्ष अघि स्थापना भएको आयोजक क्लबले लगातार तेस्रोपटक प्रतियोगिता आयोजना गरेको हो । विगतका दुई संस्करण आयोजक आफैंले जितेको छ ।

खेल हेटौंडा–७ नागस्वतीस्थित नवज्योति विद्यालयको खेलमैदानमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत आज बुधवार चारवटा खेल हुने अध्यक्ष तितुङले बताए । पहिलो खेल लेकसाईड भेट्रान्स पोखरा र वीरगन्ज युनिटी भेट्रान्स, दोस्रो खेल बीरगन्ज युथ एकेडेमी र पशुपति भेट्रान्स, तेस्रो खेल बीरगन्ज सिटी भेट्रान्स र जोरपाटी भेट्रान्स र चौथो खेल अभिषेक चर्च भेट्रान्स र नागस्वती भेट्रान्स ‘बि’ बीच हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*