वक्तृत्वकलामा नाटेश्वरकी आकृति केसी प्रथम
हेटौंडा- पालुङ जेसीजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गतको चौंथो दिन माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ ।बुधबार पालुङ जेसीजको सभाहलमा भएको प्रतियोगितामा नाटेश्वर मावि थाहा–१० की छात्रा आकृति केसी प्रथम, पालुङ भ्याली हार्ट एकेडेमी थाहा–३ की छात्रा सुमिना थापा द्वितीय, सरस्वती बिद्यामन्दिर थाहा–६ की छात्रा राशी श्रेष्ठ तृतीय भएका थिए ।
वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई जेसीज सप्ताह समापनको दिन १५ गते शनिवार क्रमशः नगद ३ हजार, २ हजार र १ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक रोशनी गोपालीले बताइन् ।
प्रतियोगितामा थाहा नगरपालिका भित्रका १० विद्यालयका १९ जना विद्यार्थीको सहभागिता रहेका पालुङ जेसीज बर्ष २०२५ का महासचिव विक्रम गोपालीले बताए । पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगितामा थाहा नगरपालिका शिक्षा शाखाप्रमुख माधवबिक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पालुङ जेसीजका पूर्वअध्यक्ष सुरेन्द्रमान प्रधान, कुमार नेगी, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूलकार्यक्रम संयोजक मानसिं दोङ, कोषाध्यक्ष सञ्जय गोपाली, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्टलगायतको उपस्थिति रहेको थियो । सप्ताह कार्यक्रमअन्तरगत भोलि बिहीबार ऋषेश्वर प्रावि दामनका विद्यार्थीलाई भरत–रत्न छात्रबृत्ति बितरणको कार्यक्रम रहेका महासचिव बिक्रम गोपालीले बताए ।







