मनहरीमा विद्यालय बालसंरक्षण नीति हस्तान्तरण

साझाकुरा
२०८१ पुष १३, शनिबार १३:५१

हेटौंडा-मनहरी गाउँपालिका र सिविन नेपाल मकवानपुरले संयुक्तरुपमा निर्माण गरेको विद्यालय बाल संरक्षण नीति हस्तान्तरण गरिएको छ ।बिहिवार मनहरी–३ स्थित लामिटारमा रहेको सभाहलमा एक कार्यक्रमको आयोजना गरी ९ वटा विद्यालयलाई बालसंरक्षण नीति हस्तान्तरण गरिएको हो । मनहरी गाउँपालिकाको शिक्षा शाखासँगको समन्वयमा बालबालिका क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको सिविन नेपाल मकवानपुरले निर्माण गरेको नीति गाउँपालिकाको ५ वटा वडामा रहेको आधारभूत र माध्यमिक विद्यालयलाई समटेर नीति निर्माण गरेको थियो ।

नीतिपुस्तिका ग्रहण गर्दै विद्यालयले पुस महिनाभित्रमा लागू गरिसक्ने प्रतिबद्धता जनाएको छ । मनहरी गाउँपालिका वडा नं.–१ म रहेको बालजीवनज्योति मावि र जनज्योति आधारभूत विद्यालय, मनहरी–३ मा रहेको महेन्द्रज्योति मावि, प्रजा आधारभूत विद्यालय, वडा नं.–५ मा रहेको भोजसिद्ध मावि, वडा–७ मा रहेको राष्ट्रिय रोटरी मावि ,ब्रह्मकाली आधारभूत विद्यालय, राष्ट्रिय मावि रमनटार र मनहरी–९ मा रहेको युवावर्ष आधारभूत विद्यालयले गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्धि र बालबालिकाको स्तरीयशिक्षाका लागि बालसंरक्षण नीतिलाई अक्षरस पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।

नीति निर्माणका लागि सिविन नेपाल मकवानपुरले पहिलो चरणमा ९ वटै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु त्था सरोकारवालालाई समेटेर ४ दिने तालिम समेत सञ्चालन गरेको थियो । साथै दोस्रो चरणमा सिविन र गाउँपालिकाको प्रतिनिधि प्रत्येक विद्यालयमै पुगी अभिभावक, विद्यार्थी र शिक्षकसँग अन्तरक्रिया, छलफल र सुझाव संकलन गरी नीतिको पहिलो प्रारुप तयार पारिएको थियो ।

सम्बन्धित सबैको सुझावको आधारमा प्रत्येक विद्यालयको फरक–फरक अवस्थालाई समेटेर सिविन नेपालको विषयविज्ञले नीतिलाई अन्तिम रुप दिई बिहीबार हस्तान्तरण गरिएको हो । नीति हस्तान्तरण गर्दै मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामीमगरले बालसंरक्षण नीतिले गाउँपालिकाको शैक्षिक क्षेत्रको आमूल परिवर्तन हुनेमा विश्वास व्यक्त गरिन् । नीतिलाई सफल बनाउन अभिभाव र विद्यार्थीको ठुलो भूमिका हुने भएकाले सबैको सहयोगको आवश्यक रहेको बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*