हेटौंडामा फागुन ९–१० राष्ट्रिय नवसर्जक उत्सव
हेटौंडा- हेटौंडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशन हुने भएको छ । देशभरका युवायुवती, किशोरकिशोरी एवम् हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालय तहका बालबालिकाको सहभागितामा आगामीे फागुन ९ र १० गते उत्सव हुने आयोजक नवसर्जक साहित्य चौतारी नेपालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।उत्सवमार्फत् बागमती प्रदेशको विगतदेखिको पहिचानलाई थप नयाँ उचाइमा पु¥याई नवसर्जक उत्पादन गर्ने, हेटौंडालाई साहित्यिक पर्यटनको केन्द्र बनाउने तथा पठन र लेखन संस्कृतिको विकास गर्ने प्रमुख उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक दीपक गौतमले जानकारी दिए ।
उत्सवको पहिलो दिन ९ गते मुक्तक, गजल, लोक लयका कविता, गद्य कविता, कथा, नाटक, निबन्धलेखन र चित्रकला लगायत विभिन्न ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला हुने र दोस्रो दिन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोेगिता तथा रचनावाचन हुने गौतमले बताए ।हेटौंडा उपमहानगरपालिका–४ वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयको मुख्य आर्थिक व्यवस्थापनमा सम्पन्न हुने उत्सवमा नवसर्जकलाई विभिन्न विधामा सम्मान र पुरस्कार वितरण गरिनेछ । राष्ट्रव्यापी नवसर्जक गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजार र ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई ७ हजार ७ सय ७७ रुपैयाँ राशीको सम्मान तथा एकजना अग्रज बालसाहित्य सर्जक वा अभियन्तालाई १५ हजार ५ सय ५५ रुपैयाँ नगद राशीले सम्मान गरीने बताइएको छ ।
संस्थाले यसअघि २०७७ जेठ २८ गते पहिलो राष्ट्रिय बालउत्सवको आयोजना गरेको थियो । हेटौंडामा केन्द्रीय कार्यालय रहेको यस संस्थाले स्थापनाको ४ वर्षमा १ सय ५० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका बालकवि गोष्ठीको आयोजना गरिसकेको छ । यस्तै संस्थाले हालसम्म दजनौं नवसर्जकलाई प्रादेशिक र राष्ट्रिय पुरस्कार दिलाउनुंका साथै दर्जनबढी नवसर्जकको कृतिप्रकाशन गरेको छ ।पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिका–४ का वडाअध्यक्ष नवीन सिग्देल, संस्थाका केन्द्रीय सल्लाहकार तथा पुरस्कार संस्थापक रमेशमोहन अधिकारी, विष्णु न्यौपाने, अर्चना दाहाल, संस्थाकी उपाध्यक्ष कृतिका लौडारी लगायतको उपस्थिति थियो ।







