एक लाख पशुलाई खोरेतविरुद्ध खोप लगाइने

साझाकुरा
२०८२ जेष्ठ ९, बिहीबार १०:५९

हेटौंडा- मकवानपुरमा एक लाख एक हजार पशुलाई खोरेत रोगविरुद्ध खोप लगाउन थलिएको छ । १० वटै स्थानीय तहमा जेठ पहिलो सातादेखि खोरेत रोगविरुद्ध खोप लगाउन थालिएको पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ । जेठ पहिलो सातादेखि जिल्लाभरि खोरेतविरुद्ध खोप अभियान सुरु गरिएको र जेठ अन्तिम सातासम्म सबैतिर खोप लगाउने काम सकिने कार्यालयका प्रमुख डा. वज्रकिशोर ठाकुरले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकामा २७ हजार, थाहा नगरपालिकामा पाँच हजार, मनहरीमा ११ हजार नौ सय, बागमतीमा १० हजार, बकैयामा १५ हजार, मकवानपुरगढीमा नौ हजार, भीमफेदीमा तीन हजार, इन्द्रसरोवरमा चार हजार, कैलाशमा दुई हजार र राक्सिराङमा चार हजार पशुलाई खोरेतविरुद्ध खोप लगाइँदै छ ।

खोप लगाउनका लागि जिल्लाभर ७० जना भ्याक्सिनेटर नियुक्त गरिएको पशुसेवा कार्यालय मकवानपुरका पशु चिकित्सक डा. विजय पौडेलले जानकारी दिए । खोरेत लागेका पशुलाई ज्वरो आउने, मुख तथा थुन वरिपरि फोका उठ्ने, खुरको कापमा घाउ, खान अरुचि, खान नसक्नु, झोक्राउनु, झुसिलो देखिनु, मुखबाट ¥याल काढ्नुलगायतका लक्षण देखा पर्ने गरेका छन् ।

खासगरी खोरेत रोग सीधा सम्पर्कबाट, हावामा फैलिएर जनावरको श्वासप्रश्वासमार्फत, दुध, वीर्य, दानामा प्रयोग भएको सङ्क्रमित एनिमल प्रोटिनका स्रोतबाट फैलिने गरेको पशुप्राविधिकको भनाइ छ । पशुमा विषाणुका कारणले लाग्ने महामारी खोरेत अहिलेसम्म सात प्रजातिका भेटिएका छन् । पशुसेवा कार्यालय मकवानपुरले गत मङ्सिरमा पनि खोप अभियान सञ्चालन गरेको थियो ।

बढी जोखिमयुक्त ठाउँमा छ÷छ महिना र अन्य ठाउँमा वर्षमा एक डोज खोप लगाइने गरिएको छ । जिल्लामा गत आवमा करिब ५५ हजार डोज खोरेतविरुद्धको खोपलगाइएको थियो । पशुसेवा विभागबाट खोरेत रोगविरुद्धको खोप प्राप्त भएको छ भने किसानका घरघरमा पुगेर खोप लगाउने भ्याक्सिनेटरका लागि प्रदेश सरकारले पारिश्रमिक उपलब्ध गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*