श्रम कानूनको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको जोड

हेटौंडा- श्रमसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको आयोजनामा भएको मर्यादित श्रम, उत्पादकत्व बृद्धिको लागि श्रमिक शिक्षा कार्यक्रममा सहभागी सरोकारवालाले कानूनको कार्यान्वयले मात्र श्रमिको अधिकार स्थापित हुनसक्ने बताएका हुन् ।
कार्यक्रममा सहभागीले श्रमसम्बन्धी कानून कार्यान्वयले मात्र श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध स्थापित गराउन सक्ने र उत्पादकत्व बृद्धि भई देशले समृद्धि हासिल गर्न सक्ने बताएका छन् । सहभागीले राज्यले श्रमिकको सुरक्षामा ध्यान दिनुपर्ने, श्रमिकको समस्या समाधान गर्नेगरी स्थानीय तहमै डेस्क स्थापना हुनुपर्ने, न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने, सबै श्रमिकको सुरक्षाको ग्यारेन्टी रोजगारदाताले गर्नुपर्ने बताएका थिए । श्रम ऐन पूर्णरुपमा कार्यान्वयन नहुँदा श्रमिकहरु समस्यामा काम गर्न बाध्य रहेको उनीहरुको भनाई थियो । उनीहरुले श्रम ऐन कार्यान्वयनमा ट्रेड युनियनले भूमिका खेल्न सक्ने भएपनि युनियनहरुले काम नगरेको गुनासो गरे ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका चक्रबहादुर श्रेष्ठले प्रस्तुतिकरण गर्दै श्रमशिक्षा, श्रमिक र रोजगारदाता, आन्तरिक रोजगारी सम्वन्धी जानकारी गराएका थिए । उनले असल श्रम अभ्यास, मर्यादित श्रम, व्यवसायजन्य सुरक्षा, प्रविधिको प्रयोगलगायत विष्यामा जानकारी गराए । उनले मर्यादित श्रम र उत्पादकत्व बृद्धिका लागि व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने साथै प्रविधिसम्बन्धी सीपको विकास गर्नुपर्ने बताएका छन् ।
कार्यक्रममा प्रस्तुतिकरण गर्दै विभागका कारखाना निरीक्षक सागर अर्यालले श्रमसम्बन्धी कानून कार्यान्वयन तथा विद्यामान समस्या समाधानका लागि कानूनसम्बन्धी ज्ञान जरुरी रहेको बताएका छन् । मौलिक हकको व्यवस्था, न्यूनतम पारिश्रमीक, सामाजिक सुरक्षा कोषको वारेमा प्रष्ट पार्दै उनले श्रम ऐन र नियमावलीका वारेमा जानकारी गराएका थिए । उनले ऐन नियममा आउने कतिपय समय सापेक्ष परिर्वतनका कारण पनि श्रमिक र रोजगारदाताबीच द्वन्द्व हुने गरेको भन्दै कानूनसम्बन्धी जानकारी हुन जरुरी रहेको बताए ।
श्रम कार्यालय हेटौंडाका प्रमुख रुद्रनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ट्रेड युनियनका प्रमुख एवम् प्रतिनिधि, उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायी तथा उद्योग सञ्चालक, रोजगारदाता, श्रमिक, कर्मचारी लगायतको सहभागिता थियो । मर्यादित र व्यवस्थित व्यवसाय सञ्चालनको वातावरण निमार्णसँगै रोजगार दाता, व्यवसायी र श्रमिकले ध्यान दिनुपर्ने कुरावारे जानकारी गराउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको श्रम कार्यालय हेटौंडाका सूचना अधिकारी उपेन्द्रनाथ पोखरेलले जानकारी दिए ।