विशेष अनुदानतर्फ १२ वटा योजना छनोट

राक्सिराङ र बागमती गाउँपालिकाको २-२ वटा योजना छनोट
साझाकुरा
२०८२ जेष्ठ २१, मंगलवार ११:५८

हेटौंडा- मकवानपुरका १० पालिकाको लागि विशेष अनुदानतर्फ १२ वटा योजना छनोट भएका छन् । मकवानपुरको राक्सिराङ र बागमती गाउँपालिकाको २-२ वटा र बाँकी सबै पालिकाले अनुदान तर्फको योजना छनोट भएको छ । इन्द्रसरोवर गाउँपालिकामा ज्यामिरे–वत्सलादेवी–सानुटार–डाँडरे– कुन्युटार तटबन्धन योजनाका लागि बजेट पाएको छ ।

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको यस योजनाले ६८ लाख विशेष अनुदान पाएको हो । ३ करोड कुल लागत रहेको यो योजना पालिकाको नयाँ योजना हो । कैलाश गाउँपालिकाले चेपाङ तथा अति विपन्न समुदायका (मातृ तथा बालबालिका) लागि पोषण सुधार कार्यक्रमका लागि ७५ लाख विशेष अनुदान पाएको छ । एक वर्षमै सम्पन्न गर्ने लक्ष सहित नयाँ प्रस्ताव भएको यो कार्यक्रमको कुल लागत १ करोड रहेको छ ।

राक्सिराङ गाउँपालिकामा चेपाङ बालबालिकाको गुणस्तरीय प्रारम्भिक बालविकास तथा आधारभूत शिक्षा सुधार कार्यक्रमका लागि १ करोड क्रमागत अनुदान पाएको छ । तीनवर्षमा सम्पन्न गरिने यो योजनाको कुल लागत ३ करोड रुपैयाँ रहेको छ । राक्सिराङकै अर्को विशेष अनुदानबाट सञ्चालन हुने चेपाङ जीवनस्तर सुधार तथा आयआर्जन कार्यक्रमको लागि ७५ लाख बजेट विनियोजन भएको छ । एक वर्षभित्रै सम्पन्न गर्ने गरी नयाँ प्रस्ताव भएको यस योजनाको कुल लागत १ करोड रहेको छ ।

थाहा नगरपालिकाले क्रमागत योजनातर्फ क्षयरोगमुक्त अभियान कार्यक्रमका लागि २ करोड विशेष अनुदान पाएको छ । ३ वर्षे यो कार्यक्रमको कुल लागत ५ करोड रहेको छ । विशेष अनुदानबाट सञ्चालन हुने गरी मनहरी गाउँपालिकाको तल्लो मसिने खानेपानी योजनाका लागि ९० लाख विनियोजन भएको छ । २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यस योजनाको कुल लागत २ करोड रहेको छ । यो पालिकाको नयाँ योजना हो । हेटौंडा उपमहानगरले श्रमिक मावि हेटौंडा–४ को भवन निर्माणका लागि १ करोड ५० लाख विशेष अनुदान पाएको छ । तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको यस क्रमागत योजनाको कुल लागत ४ करोड रुपैयाँ रहेको छ ।

भीमफेदी गाउँपालिकाको पोखरी प्राविको भवन निर्माणका लागि ५५ लाख विनियोजन भएको छ । ३ वर्षमा योजना सम्पन्न गर्ने लक्ष्य रहेको यस योजनाको कुल लागत ३ करोड १७ लाख रुपैयाँ रहेको छ । यो पालिकाको क्रमागत योजना हो । मकवानपुरगढी गाउँपालिकाको शारदा मावि भवन निर्माण क्रमागत अधुरो गढी–५ का लागि २ करोड विनियोजन भएको छ । दुई वर्षमा निर्माण सक्ने योजना रहेको यो भवनको कुल लागत १ करोड ५० लाख रुपैयाँ रहेको छ ।

बकैया गाउँपालिकाले पोषणमैत्री स्थानीय तह घोषणा गर्न विशेष अनुदान पाएको छ । एकवर्षभित्रै कार्यक्रम सक्ने योजना रहेको यो योजनाका लागि ७५ लाख रुपैयाँ विनियोजन भएको छ । नयाँ योजनाको कुल लागत १ करोड रहेको छ । बागमती गाउँपालिकाको गुन्द्रुकखोला खानेपानी आयोजनाका लागि २ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*