८ जना साहित्यकार एउटै मञ्चमा सम्मानित

मकवानपुर साहित्य श्री सम्मान राजकुमार लामिछानेलाई समर्पण
साझाकुरा
२०८२ जेष्ठ १२, आईतवार ११:३१

हेटौँडा- साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गरेको छ । ३ सय ५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव २०८२ को अवसरमा शनिबार हेटौंडामा आयोजित एक कार्यक्रमको बीच विभिन्न विधाका उत्कृष्ट ८ जना स्रष्टालाई एउटै मञ्चमा सम्मान गरेको हो । मकवानपुर साहित्य श्री सम्मान २०८१ बाट राजकुमार लामिछानेलाई सम्मान गरिएको छ । उक्त पुरस्कारको राशी १५ हजार ५ सय ५५ रुपैंया रहेको छ । लेखनशैलीमा हास्य र ब्यङग्यको सन्तुलन मिलाई समाजका यथार्थहरुलाई टपक्क टिपेर विकृति, विसंगतीहरुलाई तीव्र प्रहार गर्ने शैलीमा लेख सिर्जना गर्ने व्यक्तित्वको रुपमा उनी परिचित् छन् । उक्त पुरस्कार तत्कालिन जिल्ला विकास समिति मकवानपुरले उपलब्धगराएको अक्षयकोषबाट स्थापनागरिएको हो ।

१५ हजार ५ सय ५५ राशीको भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित भएकी छिन् । कवि, गजलकार, समालोचकको रुपमा परिचय बनाइएकी आत्रेय इलाममा जन्मिएकी हुन् । सो पुरस्कार विशाल अधिकारी (आशुतोष) ले आफ्नो दिवगंत पिता भेषनाथ अधिकारीको स्मृतिमा स्थापना गरेका हुन् । त्यसैगरी ११ हजार १ सय रुपैंयाको नगद राशीको विनोद सुनिता सुवेदी सम्मान २०८१ रामकुमार एलनलाई प्रदान गरिएको छ । एलन नेपाली पत्रकारिता र साहित्यका चिरपरिचत व्यक्तित्व हुन् । सो पुरस्कार समाजसेवी विनोदसुवेदी र सुनिता सुवेदीले स्थापना गरेका हुन् ।

१० हजार राशीको दिपक मुडभरी स्मृति सम्मान २०८१ बाट समिर पाख्रिनलाई सम्मानित गरिएको छ । लेखन मार्फत सामाजिक यथार्थलाई प्रस्तुत गर्ने पाख्रिन सादगी जीवन भएका व्यक्ति हुन् । उक्त पुरस्कार मुडभरी परिवारले स्थापना गरेका हुन् ।त्यस्तै म·लादेवी स्मृति सम्मान २०८१ बाट वबि थापा नगद राशी १० हजार सहित सम्मानित भएका छन् । मकवानपुरका सुपरिचित गजलकार थापाले हालसम्म पनि गजल र कवितामै कलम चलाउँदै आएका छन् । सो पुरस्कार शिक्षासेवी देवप्रसाद श्रेष्ठले आफ्नो आमा मंगलादेवी श्रेष्ठको स्मृतिमा स्थापना गरेका हुन् ।

मुक्तितारा सम्मान २०८१ यश लामालाई समर्पित गरिएको छ । उक्त पुरस्कारको राशी नगद १० हजार रहेको छ । नेपाली गद्य कवितामा दुई दशकदेखि सक्रिय लामा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष समेत हुन् । प्रलेस केन्द्रिय परिषद् सदस्य समेत रहेका लामाले शिक्षण र लेखनलाई समानान्तर रुपमा अघि बढाएका छन् । उक्त पुरस्कार समाजसेवी एवम् साहित्यकार मुक्तिगोविन्द वैद्यले स्थापना गरेका हुन् ।

यसैगरी १० हजार राशीको रामहरि देवु सम्मान २०८१ बाट मसान उपासकलाई सम्मान गरिएको छ । लेखनको हिसाबले कविता, गजल, कथा, निबन्धमा सुची राख्ने मसान उपासक बकैया गाउँपालिकका स्थायी बासिन्दा हुन् । युवा पलायन र सामाजिक रुपान्तरणको विषयमा कलम चलाउने मसानको वास्तविक नाम मिनप्रसाद सञ्जेल हुन् । सो पुरस्कारका संस्थापक ऋषि केबी र पुण्यशीला श्रेष्ठ हुन् ।

साहित्य स·म मकवानपुर कृति सम्मान २०८०÷०८१ बाट नगद राशि रु २५ हजार १ रुपैंया सहित अभय श्रेष्ठलाई सम्मान गरिएको छ । श्रेष्ठ कवि, कथाकार, पत्रकार, सम्पादकको रुपमा परिचित छन् । उक्त पुरस्कार डा.केशव श्रेष्ठ ‘ज्योति’ ले स्थापना गरेका हुन् । २०८० र २०८१ मा प्रकाशित कविता संग्रह दर्ता आह्वान गरी प्राप्त कृति मध्ये सर्वोत्कृष्ट कृति छनोट गरिएको सम्मान गरिएको हो ।साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता एवम् संगम मकवानपुरका संस्थापक सदस्य डा.केशव श्रेष्ठ ‘ज्योति’ को प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम भएको हो । हेटौंडा उपमहानगरपालिकासंगको सहकार्यमा संगमले स्रष्टालाई सम्मान गरेको हो ।

कार्यक्रममा सम्मानित स्रष्टाहरुले रचना वाचन समेत गरेका थिए । उत्सवको अवसरमा सपना र सम्भावनाःसिर्जनामा नयाँ पुस्ता, कविताःयुगको प्रतिबिम्बनको विषयमा प्यानल डिस्कसन समेत भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नंं. वडा अध्यक्ष नवीन सिग्देल, मदन भण्डारी फाउण्डेशन मकवानपुरका अध्यक्ष रघुनाथ खुलाल, साहित्यकारहरु निमेश निखिल, तुलसी घिमिरे, सुवास खनाल लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*