बागमती प्रदेशसभाको अस्थायी भवन आजदेखि सञ्चालनमा आउने
हेटौंडा- बागमती प्रदेशसभाको अस्थायी भवनको निर्माणकार्य सकिएको छ । ५ वर्षअघि शिलान्यास गरी निर्माणकार्य थालिएको भवनमा आजदेखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ ।प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार आज मंगलबार बस्ने प्रदेशसभाको बैठक नयाँ भवनमा आयोजना गरिने तयारी भएको छ ।
यसदिन बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यक्रम छ । सभाहलको भित्रको सम्पूर्ण काम सकिएको छ भने माइक र जेनेरेटर जडानको अन्तिमचरणमा रहेको सचिव पौडेलले जानकारी दिएका छन् । वि.स. २०७४ माघ १८ गतेको बैठकवाट आफ्नो कार्य प्रारम्भ गरेको प्रदेशसभाले २०७७ मंसिर १० गते मात्रै अस्थायी भवनको शिलान्यास गरेको थियो ।
अर्घाखाँची–सगुन–पारामाउन्ट जेभीले १८ महिनामा काम सक्ने गरी २०७७ कार्तिक १९ गते ४ करोड ९४ लाख रुपैयाँमा भवन बनाउने ठेक्का पाएको थियो । निर्माण कम्पनीले ढिलो गरी संरचना निर्माण ग¥यो र थप कामका लागि २०८० फागुन २३ गते सिउँडी निर्माण सेवासँग ३ करोड ५३ लाख रुपैयाँमा शहरी भवन कार्यालयले ठेक्का सम्झौता गरेको थियो । प्रदेशसभाले सिउँडी इन्टरनेशनल प्रालिसँग भवनमा फर्निचर÷फर्निसिङ कार्यका लागि २ करोड २४ लाख ७३ हजारमा ठेक्का सम्झौता गरेको हो । नयाँ भवन सञ्चालनमा आएपछि प्रदेशसभाको बैठक र कार्यसञ्चालनमा सहजता हुने सचिव पौडेललेबताए ।







