माउन्टेन डिउका उपभोक्तालाई मिरिन्डा पनि किन्न बाध्य पारिंदै

हेटौंडा-हल्का चिसो पेयपदार्थ माउन्टेन डिउ किन्ने उपभोक्तालाई मिरिन्डा पनि किन्न बाध्य पारिएको छ । हेटौंडाको कान्तिराजपथ स्थित भैरवरोडक्षेत्रमा मंगलबार भएको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो । माउन्टेन डिउको ९ वटा बोटलको केसमा अनिवार्यरुपमा एउटा मिरिन्डा राखेर बिक्रीमा पठाएको पाइएको छ । डिउ किन्ने उपभोक्ताले बाध्यतावश मिरिन्डा पनि किन्नु परेको गुनासो गरेका छन् । एक केस नै किन्ने उपभोक्ताले मिरिन्डा किन्नैपर्ने बाध्यता रहेको बिक्रेताले बताएका छन् । ९ वटा प्याकेटको केस फोडेर ८ वटा डिउ र एउटा मिरिन्डा राखेर बिक्री गरिरहेको पाइएको छ । बिक्रेताले आफूहरुले यस्तो नगरेको र डिलरबाटै यसरी आएको बताएका छन् ।
यस्तो कार्य उपभोक्ता अधिकारविपरीत रहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले आपत्ति जनाएको छ । मञ्चका उपाध्यक्ष बासु खतिवडाले डिलरले कम बिक्री हुने मिरिन्डा र स्लाइसजस्ता पेयपदार्थ डिउको प्याकेटमा हालेर उपभोक्तालाई किन्न बाध्य पारिरहेका भन्दै आपत्ति जनाए । उपभोक्ता अधिकार ऐन अनुसार प्याकेटमा एक वस्तु देखाएर अर्को बिक्री गर्न नमिल्ने उनले बताए । यस विषयमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित डिलरलाई कारबाही गर्नुपर्ने माग उनले गरे ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्यनिरीक्षण अधिकारी दीपक घिमिरेले अनुगमनका क्रममा माउन्टेन डिउमा मिरिन्डा अनिवार्य गरेर पठाएको पुष्टि गरे । यद्यपि, कार्यालयको अधिकार खाद्यपदार्थको गुणस्तर, म्याद गुज्रेको सामान र लेबल जाँचमा मात्र सीमित भएकाले यस विषयमा के गर्ने भन्ने बारेमा छलफल गरेर अगाडि बढ्ने उनले बताए । यसरी नै, सानो साइजको डिउमा समेत स्लाइस पेयपदार्थ राखेर बिक्री गरिएको पाइएको छ ।
डिलरहरुले कम बिक्री हुने मिरिन्डा र स्लाइस जस्ता पेयपदार्थ डिउको प्याकेटमा हालेर उपभोक्तालाई किन्न बाध्य पारिरहेका हुन् । चाडपर्व लक्षित संयुक्त बजार अनुगमनका क्रममा कान्तिराजपथ, भैरवरोड लगायत क्षेत्रका खाद्यान्न पसल, मिठाई पसल अनुगमन गरिएको थियो ।