३४ हजारलाई खुवाइयो भिटामिन ‘ए’ र जुकाको औषधि

साझाकुरा
२०८२ कार्तिक २४, आईतवार ११:४९

हेटौंडा- मकवानपुरमा ३४ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । कार्तिक २० गते बिहिबार र २१ गते शुक्रबार दुई दिन सञ्चालित कार्यक्रममा जिल्लाका दशवटै पालिकामा गरी ३४ हजार बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको हो । जन्मेको ६ महिनादेखि ५ वर्षसम्मका १२ हजार ६ सय बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्ष समूहका बालबालिकालाई जुकाको औषधि खुवाइएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका १० वटै स्थानीय तहमा ४ सय ७२ महिला स्वास्थ्यस्वयंसेविका परिचालन गरिएको जनस्वास्थ्य अधिकृत बासुदेव रिमालले जानकारी दिएका छन् ।

हेटौंडा उपमहानगरमा ९२, मनहरीमा २१, राक्सिराङमा ३८, कैलाशमा ४२, भीमफेदीमा ५०, बागमतीमा ३२, बकैयामा ६५, मकवानपुरगढीमा ४०, इन्द्रसरोवरमा ३७ र थाहा नगरमा ५४ जना स्वयंसेविका खटाइएका थिए । दुवै दिन बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यक्रम भएकोमा भिटामिन ‘ए’ र जुकाको औषधि वितरणसँगै खुवाइएको बालबालिकाको पाखुराको नाप लिने, पूर्णस्तनपान लगायत २ वर्षसम्मका बालबालिकाको आमालाई स्तनपान परामर्श दिने, बालबालिकाको पोषण अवस्था थाहा पाउने एवम् मासिक वृद्धि अनुगमन सम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

नेपालमा यो कार्यक्रम हरेक वर्षमा २ पटक सञ्चालनमा आउँने गरेका छन् । कात्तिक २ र ३ गते तथा वैशाख ६ र ७ गते मा गरेर यो कार्यक्रम सञ्चालन गरिने गरिन्छ । यसवर्ष भने तिहार परेकाले कात्तिक २ र ३ गते कार्यक्रम २० र २१ गतेका लागि गरिएको हो । बालबालिकाको दृष्टि क्षमता वृद्धि तथा रोग प्रतिरोध क्षमता विकासका लागि भिटामिन ‘ए’ अत्यावश्यक भएको निष्कर्षसहित २०५३ सालदेखि प्रत्येक बैशाख र कात्तिकमा दुइपटक भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*