बागमती कांग्रेस प्रदेश बैठक : पूर्वमुख्यमन्त्री बहादुरसिंह निकट सबै सांसद अनुपस्थित

साझाकुरा
२०८२ मंसिर २, सोमबार १३:२४

हेटौंडा- बागमती कांग्रेस प्रदेश समितिले शुक्रबार र शनिबार नगरकोटमा आयोजना गरेको बैठकमा पूर्वमुख्यमन्त्री बहादुरसिंह लामापक्षका प्रदेशसभाका सबै सदस्य अनुपस्थित भएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकमा प्रदेससभा सदस्यलाई पनि आमन्त्रण गरिएको थियो । तर, बैठकमा लामा पक्षका १४ जना प्रदेशसभा सदस्य उपस्थित भएनन् । गत साउनमा लामालाई बानियाँको नेतृत्वले मुख्यमन्त्रीबाट हटाएपछि उनीहरुबीच दूरी बढेको थियो । तत्कालीन मुख्यमन्त्री लामालाई गत साउनमा हटाएर बानियाँ कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए । दलको नेता बनेपछि बानियाँले मुख्यमन्त्रीबाट उनलाई हटाएका थिए ।

लामा २०७९ को निर्वाचनपछि संसदीय दलको नेता र मुख्यमन्त्री बनेका थिए । त्यतिबेला पनि बानियाँ र लामाबीच नै दलको नेतामा प्रतिस्पर्धा भएको थियो । लामाले जितेपछि दलको नेता र मुख्यमन्त्री बनेका थिए । तर, गत साउनमा लामालाई मुख्यमन्त्री र दलको नेताबाट हटाएका थिए । त्यतिबेला बानियाँले २२ र लामाले १४ मत प्राप्त गरेका थिए । कांग्रेसको प्रदेशसभा सदस्य ३७ जना थिए आफूलाई संसदीय दलको नेता र मुख्यमन्त्रीबाट अनाहकमा जबर्जस्ती हटाएको भन्दै लामाले आक्रोश पोखेका थिए ।

नगरकोट बैठकमा लामालाई संसदीय दलमा मत खासाल्ने १४ जना प्रदेशसभा सदस्य अनुपस्थित भएका हुन् । पार्टीको प्रदेश समितिले प्रदेशसभा बैठकमा विकास योजनाका बारेमा छलफल गर्न प्रदेशसभाका सदस्य, मन्त्री र १३ जिल्लाका पार्टीका जिल्ला सभापतिको संयुक्त बैठक बोलाएको थियो । पूर्वमुख्यमन्त्री लामाले भने आफू अरु नै काममा जानुपरेकाले बैठकमा जान नभ्याएको बताए । ‘प्रदेशसभा सदस्यले बैठकका बारेमा सोध्नुभएको थियो । मैले त तपाईंहरुको विचार मेरो फुर्सद छैन भनेको थिएँ । कोको जानुभयो ? कोको जानु भएन ? थाहा भएन,’ उनले भने ।

लामापक्षका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले भने, ‘बैठकको बारेमा परामर्श र छलफल नभएकाले सबै जना नगएको हो ।’ बैठकमा सहभागी सिन्धुपाल्चोकका कांग्रेस सभापति जंगबहादुर लामाले प्रदेशसभा सदस्य न्यून संख्यामा उपस्थित भएको जानकारी दिए । लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् । मुख्यमन्त्रीबाट हटाएपछि अहिले लामाले केन्द्रीय समितिको बैठकमा विशेष महाधिवेशन हुनुपर्ने माग राखेका छन् ।

लामाले बैठकमा प्रश्न गरेका थिए, ‘मलाई मुख्यमन्त्रीबाट हटाउन २४ घण्टामा सकिने, मंसिरमा महाधिवेशन गर्न किन नसकिने ?’ लामाले संसदीय निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने माग गरेपनि बानियाँले भने प्रस्ट धारणा राखेका छैनन् । नगरकोट बैठकमा प्रदेशका दुईतिहाई सदस्य तथा पदाधिकारीले विशेष वा नियमित जे भएपनि महाधिवेशन चुनावअगावै हुनुपर्ने बताएका थिए । एक पदाधिकारीका अनुसार प्रदेश समिति र जिल्ला सभापति गरी ५५ जनाले बोलेकोमा ३२ जनाले विशेष वा नियमित जे भएपनि निर्वाचअगावै हुनुपर्ने बताएका थिए ।

१५ जनाले महाधिवेशनको कुरै उठाएनन् भने ८ जनाले निर्वाचन पछि मात्र महाधिवेशन हुनुपर्ने भनाइ राखेका थिए । भक्तपुरका सभापति दुर्लभ थापा, सिन्धुलीका सभापति उपेन्द्र पोखरेल तथा रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले निर्वाचनपछि मात्र महाधिवेशन हुनुपर्ने धारणा राखेका थिए । बैठकमा रसुवा र काभ्रेबाहेक ११ जिल्लाका सभपातिको उपस्थिति थियो ।

कांग्रेस प्रदेश समिति सदस्य कुमार दुलालले बैठकको निर्णयको माइन्युट भने नगरिएको जानकारी दिए । दुलालका अनुसार बैठकका केही सहभागीले पूर्वमुख्यमन्त्री लामा अनुपस्थित भएको विषयमा कुरा उठाएका थिए । दुलालले भने, ‘सभापतिज्यूले माइन्युट पछि गर्ने भन्नुभएको छ ।’ प्रदेश सभापति तथा मुख्यमन्त्री बानियाँले भने महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने विषयमा प्रवेश नै
नगरेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*