स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री सहयोग

साझाकुरा
२०८२ पुष २५, शुक्रबार १२:०२

हेटौंडा-नेपाल ज्योतिष परिषद्को २८औँ स्थापना दिवसको अवसरमा हेटौंडास्थित संस्कृत वेद विद्यालय (हेटौंडा गुरुकुल) मा अध्ययनरत ३२ जना वेदपाठी विद्यार्थीका लागि शैक्षिक सामग्री प्रदान गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमबीच सहयोग हस्तान्तरण गरिएको हो । नेपाल ज्योतिष परिषद् मकवानपुरका अध्यक्ष ध्रुवप्रसाद सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा परिषद्का केन्द्रीय सदस्य गणेश धिताल प्रमुख अतिथि रहेका थिए ।

यस्तै, विशिष्ट अतिथिकारुपमा परिषद्का केन्द्रीय सदस्य होमनाथ न्यौपाने तथा संस्कृत वेदविद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापा सहभागी थिए । कार्यक्रममा नेपाल ज्योतिष परिषद्का पदाधिकारी, सदस्य, विद्यालयका शिक्षक कर्मचारी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

नेपाल ज्योतिष परिषद् मकवानपुरको तर्फबाट विद्यालयलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । परिषद्ले ९ दर्जन (१०८ थान) कापी तथा ३२ प्याकेट कलम प्रदान गरेको परिषद्का सचिव जीवराज बख्रेलले जानकारी दिए । परिषद्ले आगामी दिनमा पनि सामाजिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रममा वक्ताले गुरुकुल शिक्षाको संरक्षण तथा प्रवद्र्धनमा यस्ता सहयोगात्मक कार्यक्रम महत्वपूर्ण हुने धारणा व्यक्त गरे । कार्यक्रममा प्रमुखअतिथि धितालले नेपाल ज्योतिष परिषद्ले सञ्चालन गर्दै आएका यस्ता शैक्षिक तथा सामाजिक गतिविधिले संस्कृत शिक्षा र गुरुकुल परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याइरहेको उल्लेख गरे ।

परिषद्को भावी योजना बारे जानकारी गराउँदै धितालले ज्योतिष शास्त्रप्रति रुचि राख्ने युवाका लागि निःशुल्क ज्योतिष प्रशिक्षण सञ्चालन गर्ने योजना रहेको बताए । प्रशिक्षणमार्फत गुरुकुलमा अध्ययनरत विद्यार्थी तथा इच्छुक युवालाई व्यवहारिक र शास्त्रीय ज्ञान प्रदान गरी दक्षजनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । यसले ज्योतिष शास्त्रको अध्ययन, अनुसन्धान तथा संरक्षणमा नयाँ पुस्ताको सहभागिता बढाउने विश्वास व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले प्राप्त सहयोगले विद्यालयको शिक्षण गतिविधि अघि बढाउन थप मद्दत पुगेको बताउँदै परिषद्प्रति आभार व्यक्त गरे । यस्तो सहयोगले आगामी दिनमा विद्यालयका गतिविधिलाई अझ प्रभावकारीरुपमा निरन्तरता दिन प्रेरणा मिल्ने उनको भनाइथियो । सभाध्यक्ष सापकोटाले नेपाल ज्योतिष परिषद् सेवामुखी संस्था भएकाले आगामी दिनमा पनि शिक्षा, संस्कार र संस्कृतिको प्रवद्र्धनका लागि यस्ता कार्यक्रम निरन्तररुपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*