विश्व राजनीतिको नयाँ मोडः डलरको संकट र इरानको उदय
लामो समयदेखि विश्व बजार र ऊर्जा क्षेत्रमा एकछत्र राज गर्दै आएको संयुक्त राज्य अमेरिका अहिले इतिहासकै कठिन मोडमा उभिएको देखिन्छ । दोस्रो विश्वयुद्धपछिको दशकौसम्म जसरी अमेरिकाले विश्व अर्थतन्त्र र सैन्य रणनीतिको केन्द्रविन्दु बनेर आफ्नो प्रभुत्व जमाएको थियो, त्यो संरचना अहिले बिस्तारै भत्किदै गएको आभास हुन थालेको छ । विशेषगरी इरानसँगको बढ्दो तनाव, मध्यपूर्वमा जारी युद्धको बाछिटा र ऊर्जा आपूर्तिमा देखिएको अवरोधले विश्वका शक्तिशाली राष्ट्रहरूलाई आफ्नो भविष्य र आर्थिक सुरक्षाका लागि नयाँ र स्वतन्त्र बाटो रोज्न बाध्य बनाएको छ । अमेरिकाले जुन कूटनीतिक र आर्थिक दबाबका साथ विश्वका नियमहरू तय गथ्र्यो, ती नियमहरू अहिले उसकै लागि प्रत्युत्पादक बन्न थालेका छन् । विश्वका धेरै देशहरूले अब अमेरिकी संरक्षणमा बस्नु भन्दा आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिनु नै बुद्धिमानी ठानेका छन् । यसले गर्दा अन्तर्राष्ट्रिय राजनीतिमा दशकौदेखि कायम रहेको शक्ति सन्तुलनमा एउटा ठूलो हलचल पैदा भएको छ, जसले भविष्यको विश्व राजनीतिलाई नयाँ दिशा दिने निश्चित छ ।
वर्तमान विश्वको तेल र ऊर्जा राजनीतिमा अमेरिकाको जुन एकछत्र वर्चस्व थियो, त्यो अहिले लगभग अन्त्यको दिशामा पुगेको संकेतहरू स्पष्ट देखिन थालेका छन् । विगतमा अमेरिकाले तय गर्ने तेलको मूल्य र व्यापारिक सर्तहरूलाई विश्वले शिरोधार्य गर्नुपर्ने बाध्यता थियो, तर इरानसँगको पछिल्लो टकरावले यो स्थिति पूर्ण रूपमा बदलेको छ । ऊर्जा बिना कुनै पनि राष्ट्रको विकास र अर्थतन्त्र चल्न सक्दैन भन्ने यथार्थलाई हृदय·म गर्दै धेरै देशहरूले अब अमेरिकी आदेशको पर्वाह नगरी इरानसँग सिधा व्यापारिक सम्झौताहरू गर्न थालेका छन् । यो परिवर्तनले गर्दा अन्तर्राष्ट्रिय स्तरमा एउटा यस्तो नयाँ गठबन्धन बनिरहेको छ, जहाँ अमेरिका पहिलो रोजाइमा पर्न छाडेको छ । इरानको रणनीतिक अवस्थिति र ऊर्जा भण्डार माथिको उसको नियन्त्रणले गर्दा अमेरिकाले पहिलेको जस्तो ‘दादागिरी’ देखाउन सक्ने ठाउँ बाँकी छैन । यसले गर्दा अमेरिका बिस्तारै विश्व मञ्चमा एक्लिदै गएको छ भने ऊर्जा सुरक्षाका लागि विश्वका राष्ट्रहरूले नयाँ र भरपर्दो विकल्पहरूको खोजीलाई तीव्र पारेका छन् ।
युरोपेली राष्ट्रहरू र उत्तर एटलान्टिक सन्धि स·ठन (नाटो) का सदस्य देशहरूमा पनि अहिले अमेरिकाप्रति ठूलो असन्तोष र अविश्वासको वातावरण सिर्जना भएको छ । कुनै समय अमेरिकाका हरेक सैन्य र राजनीतिक निर्णयमा आँखा चिम्लेर समर्थन गर्ने युरोप अहिले आफ्नै सुरक्षा र आर्थिक स्थिरताका लागि गम्भीर रूपमा चिन्तित देखिन्छ । इरान र मध्यपूर्वको युद्धमा अमेरिकालाई अन्धधुन्ध साथ दिँदा आफ्नो देशको आकाश र जमिन प्रयोग गर्न नदिने साहसिक निर्णय धेरै युरोपेली देशहरूले गरेका छन् । उदाहरणका लागि, इटालीले अमेरिकी सैन्य विमानलाई आफ्नो भूमिमा अवतरण गर्न अनुमति नदिनु र फ्रान्सले आफ्नो हवाई क्षेत्र अमेरिकी सैन्य प्रयोजनका लागि बन्द गरिदिनुले वासिङ्टनसँगको सम्बन्धमा आएको दरारलाई प्रस्ट पार्छ । आफ्नै पुराना र भरपर्दो मित्रहरूले साथ छोड्दा अमेरिकाका लागि मध्यपूर्वमा सैन्य अपरेसन सञ्चालन गर्न निकै चुनौतीपूर्ण र खर्चिलो भएको छ । यो घटनाक्रमले अमेरिका अब विश्वको निर्विकल्प रक्षक नभई एउटा एक्लो शक्तिमा परिणत हुँदै गएको पुष्टि गर्दछ ।
विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने अमेरिकी डलरको प्रभाव पनि अहिले इतिहासकै सबैभन्दा ठूलो संकटमा परेको देखिन्छ । इरानले आफ्ना शत्रु राष्ट्रहरू र अमेरिकी समर्थकहरूका लागि नयाँ व्यापारिक नियमहरू लागू गर्दै डलरको सट्टा आफ्नै राष्ट्रिय मुद्रा ‘रियाल’ वा अन्य वैकल्पिक मुद्राहरूमा कारोबार गर्ने सर्तहरू अघि सारेको छ । यसले गर्दा सन् १९७० को दशकदेखि चल्दै आएको ‘पेट्रो डलर’ को युग समाप्त हुने खतरा बढेको छ, जसले अमेरिकी अर्थतन्त्रलाई विश्वव्यापी नियन्त्रण दिने गथ्र्यो । धेरै देशहरूले अब डलरको विकल्पमा चिनियाँ युआन, रुसी रुबल वा वस्तु विनिमय (बार्टर) प्रणाली प्रयोग गर्न रुचि देखाउन थालेका छन् । यसअघि अमेरिकाले रुस माथि लगाएका आर्थिक प्रतिबन्धहरू र त्यसबाट सिर्जना भएको ऊर्जा संकटले विश्वका अन्य देशहरूलाई ठूलो पाठ सिकाएको छ । उनीहरू अब आफ्नो अर्थतन्त्र र वित्तीय प्रणालीलाई सुरक्षित राख्नका लागि अमेरिकी मौद्रिक नीति वा डलरको भर पर्नु जोखिमपूर्ण ठान्न थालेका छन् ।
अमेरिकी नेतृत्वले सामाजिक सञ्जाल र विभिन्न मञ्चहरूमा व्यक्त गर्ने अपरिपक्व र स्वार्थी अभिव्यक्तिहरूले पनि मित्र राष्ट्रहरूमा ठूलो अविश्वास पैदा गरेको छ । पछिल्लो समय अमेरिकाले आफ्ना प्रमुख सहयोगीहरू बेलायत र फ्रान्स जस्ता देशहरूलाई संकटको बेला आफ्नै इन्धनको व्यवस्था आफै गर्न र युद्धमा एक्लै लड्न दिएको सुझावलाई अन्तर्राष्ट्रिय कूटनीतिमा निकै अशोभनीय मानिएको छ । यस्तो गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा लामो समयदेखि अमेरिकाको सुरक्षा छाता भित्र रहेका देशहरूले अहिले इरान र अन्य शक्तिहरूसँग सिधा वार्ता र व्यापारिक सम्झौताको बाटो रोजेका छन् । जब संकटको घडीमा अमेरिकाले आफ्ना सहयोगीहरूलाई एक्लै छोड्ने वा दबाब दिने संकेत दियो, तब ती देशहरूले पनि आफ्नो अस्तित्व रक्षाका लागि नयाँ कूटनीतिक आयामहरू खोज्न सुरु गरे । यसले गर्दा अमेरिकाले दशकौ लगाएर निर्माण गरेको विश्व व्यवस्था र सैन्य गठबन्धनहरू अहिले छिन्नभिन्न हुने अवस्थामा पुगेका छन् ।
मध्यपूर्वको द्वन्द्वमा इजरायललाई दिइएको अन्धधुन्ध सैन्य र आर्थिक सहयोगले अमेरिका आफैलाई पनि भित्र भित्रै कमजोर बनाउँदै लगेको छ । अर्बौ डलरका अत्याधुनिक हतियार र सुरक्षा सामग्रीहरू मध्यपूर्व पठाउँदा अमेरिकाको आफ्नै हतियार भण्डार र रक्षा प्रणालीमा उल्लेख्य कमी आएको विश्लेषण गरिदैछ । अर्कोतर्फ, इजरायलले पनि अहिले आएर इरानको रणनीतिक र भौगोलिक शक्तिलाई कम आँक्नु आफ्नो गल्ती भएको महसुस गर्न थालेको छ । समुद्रको व्यापारिक मार्ग, विशेषगरी हर्मोज जलडमरुमा इरानको पकड यति बलियो छ कि त्यहाँ सैन्य बलले कब्जा जमाउन लगभग असम्भव देखिएको छ । त्यसैले अहिले इजरायल र अमेरिका दुवैले वैकल्पिक ऊर्जा मार्गहरूको खोजी गरिरहेका छन्, तर ती मार्गहरू पनि इरानको प्रभाव क्षेत्र भन्दा बाहिर छैनन् । यो जटिल अवस्थाले के देखाउँछ भने इरानले आफ्नो भौगोलिक अवस्थितिको भरपूर फाइदा उठाउँदै अमेरिकालाई रक्षात्मक र कमजोर स्थितिमा पु¥याइदिएको छ ।
इरानको आन्तरिक भौगोलिक संरचना र यसको सैन्य तयारी यति सुदृढ छ कि अमेरिकाका लागि त्यहाँ स्थल सेना पठाउनु आत्मघाती कदम साबित हुन सक्छ । विगतमा इराक र अफगानिस्तानमा भोगेको लज्जास्पद पराजय र ती देशहरूमा छोडेर आउनु परेको अधुरो युद्धको घाउ अझै निको भएको छैन । इरानको भूमिमा प्रवेश गर्नु भनेको एउटा यस्तो ठूलो राजनीतिक र सैन्य दलदलमा फस्नु हो, जहाँबाट अमेरिका जीवितै उम्किन निकै कठिन हुनेछ । इरानी सैन्य कमाण्डरहरूले पनि अमेरिकी सेनालाई खुल्ला चेतावनी दिदै आएका छन् कि उनीहरू इरानको सीमा भित्र प्रवेश गर्न त सक्छन्, तर फर्किदा बाकसमा मात्र फर्किन पाउनेछन् । यस्तो सैन्य र रणनीतिक दबाबले गर्दा अमेरिकाले चाहेर पनि तुरुन्तै ठूलो सैन्य कारबाही गर्ने आँट गर्न सकेको छैन । यसले विश्वव्यापी रूपमा अमेरिकाको सैन्य धाक र प्रभावलाई निकै कमजोर बनाएको छ ।
विश्व राजनीतिमा अहिले एउटा नयाँ खालको ध्रुवीकरणको उदय भएको छ, जहाँ चीन र रुस जस्ता शक्तिहरूले आफ्नो प्रभाव विस्तार गर्ने सुनौलो मौका पाएका छन् । अमेरिकाले मध्यपूर्वमा आफ्नो नियन्त्रण गुमाउँदै गर्दा चीनले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि आफ्नै किसिमका प्रस्तावहरू अघि सारेको छ । धेरै खाडी देशहरूले पनि अब अमेरिकी सैन्य उपस्थितिलाई आफ्नो जमिनमा सधैका लागि स्थान दिनु जोखिमपूर्ण हुने महसुस गर्न थालेका छन् । उनीहरूले बुझिसकेका छन् कि अमेरिकाको उपस्थितिले उनीहरूको छिमेकी इरानसँगको सम्बन्धलाई सधै तनावपूर्ण बनाइराख्छ । यदि यो क्षेत्रमा दीर्घकालीन शान्ति र विकास चाहने हो भने अमेरिकी सेनाको बहिर्गमन र क्षेत्रीय शक्तिहरू बीचको आपसी संवाद नै एकमात्र विकल्प हो भन्ने आवाज बलियो हुँदै गएको छ । यो नयाँ चेतनाले मध्यपूर्वमा अमेरिकाको दशकौ लामो प्रभुत्वलाई सधैका लागि अन्त्य गर्ने संकेत गरेको छ ।
अन्तमा, अमेरिकाले आफ्नो राष्ट्रिय स्वार्थ सिद्ध गर्नका लागि जी–२०, क्वाड र जी–७ जस्ता अन्तर्राष्ट्रिय संगठनहरूलाई एउटा औजारको रूपमा प्रयोग गर्दै आएको थियो । चीनलाई घेर्न र रुसलाई विश्व मञ्चबाट एक्ल्याउन बनाइएका यी रणनीतिहरू अहिले आएर आफैलाई प्रत्युत्पादक साबित भएका छन् । विश्वका धेरै उदीयमान अर्थतन्त्रहरूले अब कुनै पनि एउटा महाशक्तिको पछाडि लाग्नु भन्दा आफ्नो स्वतन्त्र अस्तित्व र आर्थिक हितलाई केन्द्रमा राख्न थालेका छन् । अमेरिकाको ‘एकध्रुवीय’ विश्वको सपना अब अधुरो हुँदै गएको छ किनभने विश्वका हरेक राष्ट्रले अब शक्ति सन्तुलनका लागि नयाँ विकल्पहरू फेला पारिसकेका छन् । यो बदलिदो विश्व व्यवस्थामा इरान र चीन एउटा नयाँ शक्तिको केन्द्रको रूपमा उदाएका छन् भने अमेरिका आफ्नो गिर्दो साख र अर्थतन्त्र जोगाउन संघर्ष गरिरहेको देखिन्छ ।
यस समग्र परिस्थितिको विश्लेषण गर्दा के स्पष्ट हुन्छ भने अबको विश्व बहुध्रुवीय हुने निश्चित छ । कुनै एक देशले मात्रै सम्पूर्ण विश्वको बजार, मुद्रा र राजनीति नियन्त्रण गर्ने दिन अब इतिहास भइसकेका छन् । ऊर्जा र तेलको व्यापारमा आएको यो ऐतिहासिक परिवर्तनले विश्व अर्थतन्त्रलाई एउटा नयाँ र अपरिहार्य दिशा दिनेछ । अमेरिकाले यदि आफ्नो पुरानो ‘अहंकार’ र कूटनीतिक शैलीलाई तत्काल सुधार गरेन भने ऊ अन्तर्राष्ट्रिय मञ्चमा अझै धेरै एक्लिने र कमजोर हुने सम्भावना छ । इरानले देखाएको कूटनीतिक साहस र युरोपेली सहयोगी देशहरूको बदलिदो अडानले विश्व इतिहासमा एउटा नयाँ अध्याय थपेको छ । अबको समयमा वास्तविक शक्ति त्यो राष्ट्रसँग हुनेछ, जसले ऊर्जा, बजार र प्रविधिलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न सक्छ । विश्व अब एउटा नयाँ आर्थिक,
राजनीतिक र रणनीतिक युगमा प्रवेश गरिसकेको छ, जहाँ शक्तिको परिभाषा बदलिएको छ ।







