किन बस्दैछ शुक्रबार बागमती प्रदेशमा सर्वदलीय बैठक ?

साझाकुरा
२०७९ पुष ६, बुधबार १२:१४

हेटौंडा-बागमती प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गते शुक्रबार बस्ने भएको छ । बागमती प्रदेशसभा सचिवालयले पुस ८ गते शुक्रबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको हो । सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको शपथग्रहण गराउनुपर्ने, प्रदेश सांसदहरुको शपथग्रहण गराउनुपर्ने र प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनको अनुसार सर्वदलीय बैठकका लागि प्रत्येक राजनीतिक दलबाट दुई–दुई जनालाई बोलाइएको छ ।

प्रदेशसभा सचिवालयले प्रदेश सांसदहरुमध्येबाट ज्येष्ठ सदस्यको पहिचान गरिसकेको छ । माओवादी केन्द्रबाट नुवाकोट निर्वाचन क्षेत्र २ को (क) बाट प्रत्यक्षतर्फ निर्वाचित ७२ वर्षीय रामप्रसाद ढुंगाना प्रदेशसभाको जेष्ठ सदस्य हुन् । सभामुख तथा उपसभामुख चयन नभएसम्म ज्येष्ठ प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेको छ ।प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधारा १ मा उल्लेख छ । आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बुझाएसँगै सचिवालय प्रदेशसभा सदस्यको सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको छ ।

यस्तै, कान्छी प्रदेशसभा सदस्य रामेछापबाट समानुपातिकमा निर्वाचित २८ वर्षीया लक्ष्मी घिमिरे रहेको छिन् । घिमिरे राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएकी हुन् । सभामुख तथा उपसभामुख चयन नभएसम्म ज्येष्ठ प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था रहेको उहाँले बताए । प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरुले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा १८२ को उपधारा १ मा रहेको सचिव खड्काले बताए ।

बागमती प्रदेशसभामा यस पटक ७ राजनीतिक दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्टिूय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टी प्रदेशसभामा रहेका छन् । मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले २५ सिट, नेकपा माओवादी केन्द्रले १४, नेकपा एमालेले १३, राप्रपा ७, नेकपा एकीकृत समाजवादी ५ सिटमा विजयी भएको छ ।

यस्तै हाम्रो नेपाली पार्टीले र नेपाल मजदुर किसान पार्टीले १–१ सिट जितेको छ । यस्तै प्रदेशसभामा समानुपातिक तर्फबाट नेकपा एमालेले १४ सिट, नेपाली कांग्रेसले १२ सिट, माओवादी केन्द्रले ७ सिट, राप्रपाले ६ सिट, एकीकृत समाजवादीले २ सिट, नेपाल मजदुर किसान पार्टीले २ सिट र हाम्रो नेपाली पार्टीले १ सिट पाएको छ । बागमती प्रदेशमा नेपाली कांग्रेस यसपटक पहिलो दल बनेको छ ।

यस्तै यसअघिको प्रदेश सभामा पहिलो दल रहेको नेकपा एमाले यस पटक दोस्रो दल भएको छ । प्रदेशसभा बैठक सञ्चालनका लागि अहिले ७ वटै दलको लागि संसदीय दलको कोठा छुट्याइएको छ । नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पुरानै कोठामा नै कार्यालय रहेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका लागि एउटै भवनमा संसदीय दलको कोठा राखिएको छ ।

कोठामा अहिले सामग्री मिलाउने कार्य भइरहेको र एक–दुई दिनमा पूरा तयारी हुने सचिव खड्काले बताए । शनिबार निर्वाचन आयोगले बागमती प्रदेशको प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मंसिर ४ गते भएको निर्वाचनबाट बागमती प्रदेशसभामा निर्वाचितहरुको प्रतिवेदन बुझाएको थियो । आयोगले प्रतिवेदन बुझाएसँगै बागमती प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारीलाई तीव्रता दिएको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता दिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बास्कोटाले बताए ।

उनका अनुसार प्रदेशसभा संचालनको लागि सबैभन्दा पहिले प्रदेश प्रमुखमार्फत् सदस्यहरूको सपथ ग्रहण गराउने पर्ने भएकाले सोही अनुसार तयारी गरिरहेको र जेष्ठ सदस्यले अन्य सदस्यहरूलाई सपथ ग्रहण गराउने कानुनी व्यवस्था रहेको छ । उनका अनुसार प्रदेशसभाको पहिलो बैठकको सम्भावित कार्यसूचीमा स्वागत तथा शुभकामना, सभामुख र उपसभामुखको निर्वाचन, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त चिठी पत्र र केही अध्यादेशहरू लगायत रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*