राप्रपासँग मिलेर सरकार बनाउने प्रयासमा कांग्रेस र समाजवादी

साझाकुरा
२०७९ पुष २३, शनिबार १३:३०

हेटौंडाबागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखले दिएको समय सकिन अब दुई दिन मात्रै बाँकी छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पुस २५ गते दिउँसो ४ बजेसम्म बहुमत पाउनसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी गर्न पाँच दिनको समय दिएका थिए । प्रदेश प्रमुख शर्माले बिहिबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुसँगको सहकार्यमा बहुमत प्राप्त दलका नेताले मुख्यमन्त्रीमा दाबी पेस गरी सरकार गठनका लागि आह्वान गरेका थिए ।

सरकार गठनको लागि आह्वान भएसँगै दलहरुले सक्रियता बढाएका छन् । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई फकाएर नयाँ समीकरणमा सरकार बनाउने प्रयास गरेको छ । केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर एमालेको नेतृत्वमा गठबन्धन बनेसँगै बागमती प्रदेशमा पनि दलहरुको समीकरण फेरिएको छ । यसअघि कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बागमती प्रदेशमा गठबन्धनको सरकार बनेको थियो ।

तर, अहिले संघमा नयाँ समीकरण बनेसँगै बागमती प्रदेश सरकार गठनको लागि तयारी गरिरहेको कांग्रेस र समाजवादी सत्ताको खेलबाट आउट भएका छन् ।केन्द्रमा बनेको नयाँ समीकरणअनुसार प्रदेशमा पनि नेकपा एमाले, माओवादी र राप्रपाको संयुक्त सरकार बन्ने स्थिति देखिएको छ । तर,केन्द्रसँगै ७ वटै प्रदेशमा सत्ता गुमाएको कांग्रेस र समाजवादीले राप्रपालाई फकाएर बागमती प्रदेशमा सरकार गठनको लागि पहल गरिरहेको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा कुनैपनि दलको एकल बहुमत छैन । त्यसैले प्रदेशमा सरकार गठनको लागि दलहरुबीच समीकरण गर्नु बाध्यता छ । यसअघि एउटै गठबन्धनमा रहेर सरकार बनाएको कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन फुटिसकेको छ ।

केन्द्रमा बनेको तालमेल अनुसार प्रदेशमा सरकार गठनको लागि एमाले, माओवादी र राप्रपासँग पर्याप्त मत छ । तर, सत्ता गठबन्धनमा रहेको ३ वटै दलले प्रदेश सरकारको नेतृत्वमा दावी गर्दा सरकार गठनमा सकस परिरहेको छ । प्रदेशमा ३ वटै दलले सरकारको नेतृत्वमा दावी गरिरहेको भएपनि केन्द्रमा बागमती सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने भागबण्डा टुंगिएको छैन । प्रदेशमा रहेका ३ वटै दलले आफूले सरकारको नेतृत्व पाउनुपर्ने अडान लिएपछि गठबन्धन बाहिर रहेको कांग्रेस र समाजवादीले पनि सरकार गठनको लागि कसरत थालेको हो ।

बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ३७ र समाजवादीसँग ७ सांसद छन्। १३ सिट रहेको राप्रपाको समर्थन पाउँदा बागमती प्रदेशमा नयाँ समीकरणअनुसार सहजै सरकार बन्न सक्ने स्थिती छ । यी ३ दल मिल्दा ५७ हुन्छ । सरकार गठनको लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ । राप्रपाले समर्थन गर्दा सरकार गठनको लागि आवश्यक मत पुग्ने हुँदा कांग्रेस र समाजवादीले राप्रपालाई मुख्यमन्त्री दिने भन्दै
सरकार गठनको लागि नयाँ समीकरण बनाउन लविङ गरिरहेको स्रोतको दावी छ ।संघीयता खारेजीको माग गर्दै आएको राप्रपा नयाँ समीकरण अनुसार बागमती प्रदेशमा सरकार गठनको लागि निर्णायक बनेको छ । सत्ता गठबन्धन र गठबन्धनबाहिर रहेको दुवैतिर सरकार गठनको लागि आफू

निर्णायक बनेपछि प्रदेशसंरचना खारेजीको माग गर्दै आएको राप्रपाले मुख्यमन्त्रीमा दावीगरिरहेको छ । नयाँ गठबन्धनमा सरकार गठनको लागि राप्रपा ४ वटा प्रदेशमा निर्णायक रहेको भन्दै बागमतीमा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने उसको दावी छ । प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपालाई सरकारको नेतृत्व गर्न दिने पक्षमा एमाले र माओवादी छैन । प्रदेश सरकारको नेतृत्व गरेर पाँच वर्षमा प्रदेश संरचना नै खारेज गर्ने बताइरहेको राप्रपालाई सरकारको नेतृत्व सुम्पिन नहुने एमाले र माओवादीको अडान छ । तर,४ वटा प्रदेशमा आफूहरु निर्णायक रहेकोले बागमतीको नेतृत्व गर्न पाउनुपर्ने राप्रपाको माग छ ।

सत्ता गठबन्धनमा भागबण्डाको विवाद चलिरहेको अवस्थामा कांग्रेसको नजर फरक सत्ता समीकरण निर्माणमा केन्द्रित भएको छ । केन्द्रमा सात प्रदेशको प्रमुख पद बाँडफाँटमा असन्तुष्ट ्रराप्रपासहित एकीकृत समाजवादीको साथ लिएर कांग्रेसले बागमती प्रदेशमा सरकार गठन गर्ने रणनीति बनाएको छ । सोही अनुसार कांग्रेसले राप्रपालाई प्रदेशको मुख्यमन्त्री बन्न अफर गरेको बुझिएको छ ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’का अनुसार प्रदेश सरकार गठनबारे पार्टीले औपचारिक छलफल नगरेको तर अनौपचारिक रुपमा छलफल भएको बताइन् । उनले प्रदेशमा सरकार गठनका लागि कांग्रेसका सबै नेताले सक्रिय रुपमा भूमिका निर्वाह गरिरहेको उनको भनाइ छ । उनले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा सरकार गठन गर्नु जरुरी नरहेकाले फरक समीकरणबाट पनि सरकार बनाउन कांग्रेस तयार रहेको बताइन् । ‘प्रदेश सरकार गठनका विषयमा अनौपचारिक छलफलहरु भएका छन् ।

केन्द्रमा जस्तो समीकरण छ, प्रदेशमा पनि त्यस्तै हुनुपर्छ भन्ने जरुरी हुँदैन । प्रदेशमा फरक समीकरण बाट पनि सरकार बनाउन सकिन्छ,’ उनले भनिन्, ‘सत्ता समीकरण निर्माणमा प्रदेशले आफ्नो भूमिका निर्वाह गर्न सक्नु पर्छ । प्रदेशका दलहरुले केन्द्र अनुसार भन्दा पनि आफू अनुकुल समीकरण बनाओस् भन्ने हाम्रो कुरा हो ।’ उनले केन्द्रमा एमाले, माओवादी केन्द्र र राप्रपाको समीकरणमा सरकार बनेको छ भन्दैमा प्रदेशमा पनि त्यही नै गर्नु पर्छ भन्ने अनिवार्य नरहेको बताइन् । बागमती प्रदेशमा कांग्रेस र एमाले अथवा कांग्रेस र माओवादी केन्द्र वा कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको पनि सरकार बन्न सक्ने अवस्था रहेको उनको भनाइ छ ।

‘प्रदेश सरकार गठनमा धेरै विकल्प छन् । त्यो विकल्पमा पनि प्रदेशका सांसदहरुले काम गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘सोही अनुसार छलफल गर्नुपर्छ । हामी पनि त्यसै अनुसार प्रयासरत छौं । कांग्रेस अन्तिम समयसम्म पनि फरक समीकरण बनाउन पहल गर्ने पक्षमा छ,’ उनले भनिन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बहादुर सिंह लामाले प्रदेश सरकार गठनमा थुप्रै सम्भावना बाँकी रहेकाले प्रदेशको ठुलो दलको हैसियतले कांग्रेसले अन्तिम समयसम्म पहल गर्ने बताए ।

प्रदेशमा सरकार गठनका लागि कांग्रेसले सबै मार्ग खुला गरेर छलफल गरिरहेको उनको भनाइ छ । सरकार गठनका विषयमा केन्द्रको समीकरण आफ्नो ठाउँमा राखेर प्रदेश अनुकुल समीकरण बनाउन सकिने उनले बताए ।‘यस प्रदेशमा माओवादी केन्द्र र कांग्रेस वा कांग्रेस र एमालेको गठबन्धनमा सहजै सरकार बन्न सक्छ भने कांग्रेस, राप्रपा र अन्य साना दलहरूसँगको गठबन्धनमा पनि सरकार बन्न सक्ने अवस्था छ,’ उनले भने, ‘केन्द्र कै समीकरण हुनुपर्छ भन्ने छैन । केन्द्रको समीकरण केन्द्रमा र प्रदेशको प्रदेशमै बनाउन सकिन्छ ।’ यता बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् नेकपा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद शर्मा खनाल पनि प्रदेशस्तरको छलफलबाट सरकार गठन गर्नुपर्ने बताउँछन् । उनले प्रदेश सरकार गठनबारे केन्द्र र प्रदेशमा पनि केही छलफल भएको बताए ।

‘सरकार गठनबारे हामीले केन्द्रदेखि प्रदेशमा पनि त्यस विषयमा छलफल गरेका छौं । केन्द्र कै समीकरणमा सरकार बन्ने अवस्था प्रवल छ । तर केन्द्रकै अनुसार हुनुपर्छ भन्ने छैन,’ उनले भने, ‘परिस्थिति अनुसारको निर्णय प्रदेशमा हुन्छ । उक्त परिस्थितिमा सत्ता समीकरण फरक पनि बन्न सक्छ ।’ राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्वव थापा प्रदेशसभामा आफूहरुको उपस्थितीलाई जसले महशुस गर्छ उसैलाई समर्थन गर्ने बताउँछन् । राप्रपा संसदीय दलका नेता थापा कांग्रेस प्रवक्ता प्रकाशरण महत र कांग्रेस नेता मोहन बस्नेतसँग आफ्नो कुरा भएको बताउँछन् । महत र बस्नेतले
राप्रपाको नेतृत्वमा बागमती प्रदेशमा सरकार गठन गर्न आफूलाई प्रस्ताव गरेको उनको दावी छ ।

थापाले नेकपा एकीकृत समाजवादीको उपाध्यक्षसमेत रहेका बागमतीको काम चलाउ सरकारको मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि राप्रपाको नेतृत्वमा कांग्रेस र समाजवादी मिलेर सरकार बनाउन प्रस्ताव गरेको बताए ।‘प्रदेशको साढे दुई वर्षको पहिलो आधा कार्यकाल राप्रपा र बाँकीको आधा कार्यकाल कांग्रेसले सरकारको नेतृत्व गर्नेगरि उहाँहरुले प्रस्ताव गर्नुभएको छ’, थापाले भने ‘उहाँहरुले हाम्रो १३ जना सांसदलाई नै सेटल गरौला भन्नु भएको छ । तर, हामी पार्टी केन्द्र निर्णयबिना प्रदेशमा छुट्टै समीकरण बनाउन नसक्ने भएकोले माथिको ग्रिन सिग्नल कुरिरहेका छौ ।’

थापाले केन्द्रमा राप्रपाले अर्कै संयत्रमा बनेको सरकारलाई समर्थनको वाचा दिएकोले प्रदेशमा आफूहरुले आफै निर्णय गर्न नसक्ने बताए । उनले एमालेको नेतृत्वमा रहेको गठबन्धनबाट बागमती प्रदेशको नेतृत्व आफूहरुले पाए पुरा कार्यकालको लागि पाउनुपर्ने समेत बताए । ७ प्रदेशमध्ये ४ वटामा आफूहरु निर्णायक रहेकोले बागमती प्रदेशको पूरा कार्यकाल राप्रपाले नेतृत्व गर्न पाउनुपर्ने उनको भनाइ छ ।

एमालेको गठबन्धन बाहिर रहेको कांग्रेस र समाजवादीसँग मिलेर सरकार बनाएमा सुरुको आधा कार्यकाल नेतृत्व गर्ने सहमती गरेर सरकार बनाउन सक्ने उनको भनाई छ । ‘हामी प्रदेशमा आफ्नो नेतृत्व स्विकार्ने दलहरुसँग समीकरण गर्न तयार छौ । तर, केन्द्रबाट पार्टीले हामिलाई त्यसको लागि अनुमति दिनुपर्छ । हामि आफै निर्णय गरेर भने नयाँ समीकरण बनाउन सक्दैनौ’,थापाले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*