बागमतीका सभामुखलाई नेमकिपाको पत्र

साझाकुरा
२०७९ माघ २५, बुधबार ०९:१५

हेटौंडा- नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बागमती प्रदेशसभामा पनि प्रमुख प्रतिपक्षी दलको दाबी गर्दै सभामुखलाई पत्र लेखेको छ ।नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेश सभामुख भुवन कुमार पाठकलाई पत्र बुझाएका हुन् । नेमकिपाले गत माघ ९ गते नै प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेशसभा सचिवालय हेटौंडामा पत्र दर्ता गराएको थियो ।मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत माघ ३ गते सांसदबाट विश्वासको मत लिँदा नेमकिपा बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुले पक्षमा मत दिएकाले आफू विपक्षी दल भएको दाबी नेमकिपाको छ । सरकारको विपक्षमा मतदान गर्ने एउटै मात्र दल नेमकिपा नै भएकाले सभामुखसमक्ष दाबी पेस गरेको नेमकिपाले जनाएको छ ।

बागमती प्रदेशको प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड (१) बमोजिम बागमती प्रदेश सभामा विपक्षी दलको नेता चयन गर्ने कानुनी व्यवस्था अनुसार नेमकिपालाई विपक्षी दल घोषणा गर्नुपर्ने नेमकिपा सांसद गोसाईंको भनाइ छ । प्रदेशसभामा निर्वाचित नेमकिपाबाहेक सबै दल मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलहरु भएकोले आफ्नो पार्टीलाई विपक्षी दल र दलको नेता घोषणा गर्न माग गरेको गोसाईंको भनाइ छ ।

उक्त विषयमा आइतबार बसेको सर्वदलीय बैठकमा कांग्रेस र नेमकिपाबीच विवादसमेत भएको थियो । बैठकमा नेमकिपा गोसाईंले आफूलाई विपक्षी दलको नेता घोषणा गर्न माग गरेपछि कांग्रेस सांसदले विरोध गरेका थिए । कांग्रेसका सांसदले सरकारलाई आफूहरुले समर्थन नदिएको विश्वासको मत मात्रै दिएकाले केन्द्रकै अनुसार कांग्रेस विपक्षी दल भएको बताएका थिए ।  प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) अनुसार विपक्षी दल र नेता भन्नाले दलले संसदीय दलको नेताका रुपमा छानेको व्यक्ति रहने छ भने मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दल बाहेक प्रदेश सभामा सबै भन्दा बढी सदस्य भएको दल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*