करण परियारले जिते नेपाल आइडल सिजन ५ को उपाधि

साझाकुरा
२०८१ असार १०, आईतवार १२:२७

काठमाडौं-गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् ।उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन् । यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे ।

दार्जिलिङकै मोहित भुजेल थर्ड रनरअप भए । उनले स्कुटर पुरस्कार प्राप्त गरे ।चार महिनादेखि जारी नेपाल आइडल सिजन ५ को विजेता दर्शकको भोटको आधारमा गरिएको हो । नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन् । शोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गरेका थिए ।ग्रान्ड फिनालेमा नेपाल आइडल सिजन ३ की विजेता सज्जा चौलागाईं, पूर्वप्रतिस्पर्धी समेत रहेका गायक–गायिकाहरु प्रताप दास, प्रवीण बेडवाल, मेनुका पौडेल, अफ्सर अली, यो सिजनका टप १० प्रतिस्पर्धी लगायतले प्रस्तुति दिएका थिए ।नेपाल आइडललाई एपीवान टेलिभिजनले निर्माण गर्दै आएको छ । शोका निर्देशक सुरेश पौडेल हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*