चलचित्रको आधारभूत ज्ञान र सीप सिकाउँदै सञ्चार रजिष्ट्रार

हेटौंडा- बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र ती विद्यालयमा अध्यापन गराउने शिक्षकलाई चलचित्रको आधारभूत ज्ञान र सीप सिकाउन थालेको छ ।सञ्चार रजिष्ट्रारको कार्यालयले सोमबारदेखि ललितपुरको जावलाखेलस्थित आफ्नै कार्यालयमा पाँचवटा सामुदायिक विद्यालयका २० जना विद्यार्थी र पाँच जना शिक्षकलाई सहभागी गराएर पहिलोपटक पाँचदिने चलचित्र साक्षरता कार्यशालाको शुक्रबार समापन गरेको हो । कार्यक्रममा मन्तव्य राख्दै बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने जीवनउपयोगी सीप सिकाएर भविष्यमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने बताए ।
विद्यालयस्तरमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्न कार्यक्रमले मद्दत पुग्ने मन्त्री लामिछानेले बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट स्वीकृत मौलिक चलचित्र निर्माण तथा प्रवद्र्धनमा सहयोग कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि २०८१ बमोजिम गत कात्तिक ५ गते पहिलोपटक र दोस्रोपटक कात्तिक २१ गते प्रकाशित सूचना बमोजिम प्राप्त आवेदक विद्यालयका विद्यार्थी र शिक्षकका लागि कार्यक्रम सञ्चालन गरिएको हो ।
विद्यालयमा चलचित्र साक्षरता कार्यक्रममा कक्षा ९, १० र ११ मा काठमाडौंका चारवटा सामुदायिक विद्यालय र भक्तपुरको एक सामुदायिक विद्यालयमा अध्ययरत २० जना विद्यार्थी र पाँचजना शिक्षकलाई मन्त्री लामिछानेले प्रमाणपत्र प्रदान गरे । सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाका अनुसार शिक्षक र विद्यार्थीले चलचित्र निर्माणको पूर्वतयारी, चलचित्र निर्माणको चरण र चलचित्र निर्माणपछिको चरणका आधारभूत सीप सिकेका छन् ।
सापकोटाका अनुसार बागमती प्रदेशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भाषिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, प्राकृतिक महत्व झल्किने, प्रदेशको पर्यटन र संस्कृति प्रवद्र्धन गर्न योगदान पुग्ने, परम्परागत ज्ञान र सीप प्रतिबिम्बित हुने सिर्जनात्मक, भावनात्मक तथा सन्देशात्मक र कलात्मक चलचित्र, बृत्तचित्र उत्पादन, निर्माण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले यो कार्यक्रम आयोजना गरेको हो । प्रशिक्षार्थीलाई चलचित्र निर्माण, पटकथा लेखन, उत्पादनका बारेमा प्राविधिकपक्षका साथै सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिएर नयाँ जनशक्ति तयार गर्ने ध्येय राखिएको रजिष्ट्रार सापकोटाले बताए ।