पिताम्बरको टोली हेटौंडामा

हेटौंडा-गत चैत्र २९ गतेदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पिताम्बर’को टिम प्रचारप्रसारका लागि हेटौंडा आएको छ ।निर्माता, निर्देशक, प्रमुख कलाकार सहितको टिम हेटौंडा आएको हो । कलाकार प्रदीप खड्का, अनुपविक्रम शाही, निर्माता विशाल चौलागाईंलगायतका टोली हेटौंडा आएका हुन् । चलचित्र पत्रकार संघ मकवानपुरद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै निर्माण टिमले चलचित्र हेर्न आमदर्शकसमक्ष आग्रह गरेका थिए । चलचित्रकी निर्देशक कृषा चौंलागाईँले फिल्मले दर्शकलाई रिपे्रmस हुने अवसर दिने दाबी गरिन् ।
चलचित्रको मुख्य उद्देश्य मनोरन्जन भएको उल्लेख गर्दै निर्देशक चौंलागाईले पिताम्बर दर्शकलाई भरपुर मनोरन्जन दिने चलचित्रको रुपमा आफूले ल्याएको बताइन् । टोलीले चलचित्रको कथावस्तु र यसको पक्षहरुबारेमा जानकारी गराएका थिए । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले चलचित्रको सफलताको शुभकामना दिएका थिए । फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, लगायतको अभिनय छ ।