हेटौंडाले बनाएको ‘नरसिंहा अवतार’ आजबाट देशभर प्रदर्शनमा

हेटौंडा-धु्रव न्यौपाने–एउटा यस्तो नाम, जसले हिरो बन्ने सपना देखेका थिए । चलचित्रको पर्दामा एक्सन कटमा रमाउने आकंक्षा बोकेका थिए । तर, जीवनको लय केही फरक बन्यो । समय र परिस्थितिले उनलाई क्यामेराको अगाडि होइन, क्यामेराको पछाडि उभिने जिम्मेवारी दियो । आज उनी नेपाली चलचित्रक्षेत्रका एक सम्भावना बोकेका निर्माताको रुपमा स्थापित छन् । चलचित्र क्षेत्रसँग जोडिएको उनको सपना पूरा हुँदैछ तर, फरक शैलीमा । सानैदेखि अभिनयको मोह थियो उनलाई । विद्यालयका नाटकमा प्रमुख भूमिका निभाउने, टेलिफिल्मका स्क्रिप्टहरु कण्ठ गर्ने अनि ऐनामा उभिएर कलाकारिताको अभ्यास गर्ने उनको बाल्यकालको स्वभाव थियो । धुव्र सम्झन्छन्, ‘म त सधैँ पर्दामा चम्कने आकांक्षामा हुन्थें ।’ बिस्तारै उनले कलाकारिताको बाटो समाए । म्युजिक भिडियोमा काम गरे । यसक्षेत्रमा अनेकौँ उत्तारचढाव देखे । वास्तविकता सधैँ कथा र सपनाजस्तो कहाँ हुन्छ र ? जीवनले भूमिका फेर्न लगायो ।
पढाई, परिवार, व्यवसाय र व्यवहारिक जिम्मेवारीले उनलाई फिल्मी दुनियाँबाट टाढा पु¥यायो । यद्यपि त्यो तडप कहिले मरेन । आफ्नो व्यक्तिगत जीवनलाई सन्तुलन गर्दै उनले बेलाबेला म्युजिक भिडियो र चलचित्रमा अभिनय गरी नै रहे । तर, समयसँगै पर्दाप्रतिको आकर्षणले नयाँ रुप लियो–निर्माता बन्ने । निर्माता बन्ने निर्णय सहज थिएन । यो एउटा जोखिम थियो । धुव्रले यही कठिन बाटो रोजे । उनी भन्छन्, ‘अभिनयमा जम्न नपाएको पीडाले मलाई फिल्म बनाउन झनै प्रेरित ग¥यो । अरु कलाकारको सपनामा सघाउन थालेँ ।’
आज धुव्र न्यौपानेले केही गहकिला, समाजमैत्री र कलात्मक चलचित्रहरु निर्माण गरिसकेका छन् । तिनको सौन्दर्य दृश्यमामात्र होइन, विषयवस्तुमा पनि झल्किन्छ । उनले नवप्रवेशी कलाकारलाई पनि यस क्षेत्रमा मौका दिने हिम्मत देखाएका छन् । नयाँ लेखक र निर्देशकलाई विश्वास गर्ने आँट गरेका छन् । चलचित्र उनका लागि केवल व्यापार होइन, सामाजिक अभिव्यक्ति पनि हो ।धुव्र अहिले निर्माता मात्र होइनन्, एक मार्गदर्शक, एक ‘सपना देखाउने’ होइन, ‘सपना बनाउने’ मान्छे बनेका छन् । पर्दामुनिको उनका पसिनाले कैयौँको पर्दामाथिको मुस्कान बनाएको छ । उनको जीवनको यात्राले एउटा गहिरो कुरा सिकाउँछ, सपना पुरा गर्न ‘रोल’ होइन, ‘दृष्टिकोण’ चाहिन्छ । कलाकार नबन्दा पनि, कलाकार जन्माउने सपना बोक्न सकिन्छ । धुव्र न्यौपानेको जीवनले देखाएको यही दृष्टान्त हो । आजभोलि उनलाई एकछिन फुर्सद छैन । उनी चेतना कन्स्ट्रक्सनसँगै होटल मुनस्टारका सञ्चालक पनि हुन् । व्यावसायिक जीवनको भागदौडसँगै चलचित्र रिलिजको संघारमा रहेका कामको तालमेल मिलाउँदा उनी अहिले प्रेसरमा छन् ।
चलचित्र निर्माणमा लागेपछि उनले यस क्षेत्रलाई अझ गहिरोसँग बुझेका छन् । बजेटको व्यवस्थापन, कलाकारहरुसँगको सहकार्य, स्क्रिप्टमाथीको लगानी र बजारको गहिरो अङ्कगणित कहाँ सजिलो छ र ? यस अघि उनले ‘हिरो रिटन्र्स’, ‘मायावी’ जस्ता चलचित्रमा लगानी गरिसकेका छन् । चलचित्रले अपेक्षित व्यापार नगरेपनि उनले हार मानेका छैनन् । उनी अब प्रोडक्सन हाउस खोल्ने तयारीमा छन् । धुव्र र टिमले निर्माण गरेको चलचित्र ‘नरसिंहा अवतार’ले आज जेठ ९ गतेबाट देशभरका हलमा प्रदर्शनको सुरुवात गरेको छ ।
यो चलचित्रबाट कत्तिको आशावादी हुनुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘यस चलचित्रले बक्स अफिसमा राम्रो गर्ने कुरामा म विश्वस्त छु । सामाजिक विषयवस्तु उठान गरिएको र महानायक राजेश हमालको प्रतिक्षित चलचित्र भएकाले पनि दर्शकले अवश्य रुचाउनुहुनेछ ।’ दिवाकर भट्टराइको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा धुव्रसँगै दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र नेम महर्जनको लगानी छ । चलचित्रमा राजेश हमाल, सरोज खनाल, नीर शाह, नीति शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेशचन्द सोडारी, राजिवजंग बस्नेत, प्रकाश कुँवर, दीपा शाहीलगायत कलाकारको अभिनय छ ।
चलचित्रमा राजुविक्रम थापाको छायांकन, कविराज गहतराज र माइकल चन्दको नृत्य, राजु लामाको एक्सन कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजीत बासकोटा र अर्जुन पोखरेलको संगीत छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो चलचित्रका एसोसिएट निर्देशक वसन्त अधिकारी हुन् । विशेषत कलाकारद्वय राजेश हमाल र सरोज खनाल ३० वर्षपछि एकै पर्दामा देखिँदैछन्, जुन दर्शकका लागि विशेष आकर्षण हो । राजेश हमालको कमब्याक, सामाजिक सन्देश र एक्सनको संयोजनले यो चलचित्रलाई दर्शकका लागि प्रतिक्षित बनाएको छ ।