‘पीआर’को ‘टाटा बाइ बाइ’ गीतमा छमछमी नाचे नीर शाह र गौरी मल्ल
 काठमाडौं-आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ । टेक बी.सी. र प्रीती घिमिरेको युगल गायन रहेको यस गीतमा भिम बी.सी.को शब्द तथा संगीत छ । गीतले वर्तमान समयमा हुने छोटो प्रेम सम्बन्धप्रति व्यंग्य गर्दै उमेर ढल्किएका जोडीले एकअर्काप्रति गरेको कटाक्षलाई प्रस्तुत गरेको छ ।रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य जोडी नीर शाह र गौरी मल्ल छमछमी नाच्दै देखिएका छन् । विवाहको परिवेशमा तयार पारिएको भिडियोमा दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ ।
भिडियोमा रविन्द्र खड्का, उत्तम केसी लगायतका कलाकारलाई पनि देख्न सकिन्छ । शोभित बस्नेतको निर्देशनमा बनेको यो फिल्ममा नीर शाह र गौरी मल्लसहित आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा लगायतको अभिनय रहेको छ । अष्ट्रेलियन पीआरका लागि नेपाली विद्यार्थीहरूले गर्ने संघर्षको कथामा फिल्म आधारित छ । अष्ट्रेलिया निवासी रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्मातामा छन् । यसमा निर्देशक बस्नेत स्वयंको कथा छ भने पटकथा र संवाद गणेश बुढाथोकीले तयार पारेका हुन् । फिल्ममा सौरभ सायमी (अष्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायांकन, बन्दे प्रसादको सम्पादन तथा मानस राज र भीम बीसीको संगीत रहेको छ ।







